के हेर्दै छ प्रहरी प्रशासन ?



नाकामा कालापहाडे असुरक्षित, नेपाली र भारतीय ठगको गिद्देनजर शीर्षकको समाचार नेपाल समाचारपत्रको ‘अनलाइन न्यूज अफ नेपाल’मा पढ्ने अवसर पाएँ। निर्वाचनको मुखमा भोट हाल्न आएकाहरू ठगिने क्रम बढ्नु पनि सरकारलाई चुनौतीको विषय हो। चाडबाडमा मात्रै हैन, हरेक पटक नेपाली उक्त ठाउँमा आफ्नै तथा पराईबाट ठगिनु निकै दुःखको कुरा हो।

भारतको विभिन्न शहरमा काम गरेर फर्किने पहाडी जिल्लाका नेपालीहरू नेपालगन्ज नाकामा ठगको निशानामा पर्ने गरेकामा प्रहरी प्रशासनले निगरानी बढाई नेपालीको सुरक्षा गर्नुपर्छ। नशालु पदार्थ सुँघाएर, खुवाएर सबै लुटपाट गर्ने रिक्सा, टाँगा सञ्चालकले मनलाग्दी भाडा असुलेर ठग्ने प्रवृत्ति साह्रै मौलाएको छ। त्यति मात्रै हैन, यहाँका होटलवाला पनि लुटेराजस्तै बनेका छन्। आफखुशी भाडा असुल्ने तथा महँगो गराएर ठग्ने प्रवृत्ति साह्रै छ। रगत र पसिना बगाएर एक–एक गरी कमाएको रकम बोकेर आएकाहरू ठगिएका छन्। झोला बोकेका, ज्याकेट लगाएका, नेपाली टोपी लगाएका र हिन्दी–अवधि प्रस्ट नबोलेर पहाडी शैलीको नेपाली बोली बोल्ने सोझासाधा देख्नेबित्तिकै नाकामा ठगीका तीन नेत्र खुल्छन्। एक्लै वा समूह बनाएर उनीहरूले लुटिरहेका छन्।

यति हुँदा पनि नेपालीको सुरक्षा भएको छैन। जबरजस्ती सोझा नेपालीलाई रिक्सा, टाँगामा बसाएर बढी रकम असुल्ने गरिएको छ। रूपैडिहादेखि नेपालगन्जसम्म रिक्साले बढीमा ५०–६० पर्नेमा सोझासाझा नेपालीसँग ५ सय भारुसम्म असुलिरहेका छन्। यति सबै हुँदा पनि प्रहरी मौन हुँदा प्रहरीसमेतको मिलेमतोमा त यो सबै भएको छैन भन्ने कुरा यति बेला शंका उब्जिन थालेको छ। कतिपय ठगले प्रहरी र भन्सारलाई सेटिङ मिलाउनका लागि अलि धेरै पैसा लाग्छ भन्दै नेपालीलाई ठगेको कुरा पनि न्यूज अफ नेपालले प्रकाशन गरेको छ। यस विषयमा प्रहरीले मुख खोल्न जरुरी देखिन्छ।
– लेखनाथ शर्मा, नेपालगन्ज

धवलागिरिलाई पर्यटन केन्द्र बनाउनुपर्छ
म्याग्दीको सबैभन्दा ठूलो धौलागिरि गाउँपालिकाको प्रमुख मुद्दा धौलागिरिलाई पर्यटनको केन्द्र बनाउने यहाँका दलले गरेको घोषणाले खुशी बनाएको छ। सातवटा वडामा रहेको धौलागिरि गाउँपालिका १ हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँ अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् भने एमालेका उम्मेदवार एक्लै चुनावी मैदानमा उत्रिएका छन्। खुशीको कुरा के भने, सबै पार्टीका उम्मेदवारले धौलागिरिलाई पर्यटनको केन्द्र बनाउने चुनावी मुद्दा बनाएका छन्।

साबिकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको अहिलेको धौलागिरि गाउँपालिकामा १४ हजार १ सय ४ जनसङ्ख्या छ। संसारको सातौं अग्लो (८१६७ मिटर) धौलागिरि, गुर्जालगायत हिमाल रहेको यस गाउँपालिकामा ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रीय र गुरिल्ला पदमार्गको प्रवेशद्वार पनि रहेको छ। यी सबैको चिनारी र स्थानीयको आम्दानीको स्रोत बनाउन पनि यहाँ धौलागिरिलाई पर्यटनको केन्द्र बनाउन जरुरी देखिएको छ। यो अहिलेको चुनावी मुद्दा मुद्दामा मात्रै सीमित नभएर जसले जिते पनि साँच्चीकै कार्यान्वयन गरेमा हामी आभारी हुने थियौं।

– मजोज बाँठा, धौलागिरि गाउँपालिका, म्याग्दी
सांस्कृतिक नगरको रूपमा कीर्तिपुर
कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगर बनाउने कीर्तिपुरका सबैजसो मेयरका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेको खबरले हामी कीर्तिपुरवासी हर्षित भएका छौं। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रमेश महर्जनले नेवार जातिको दाफा संस्कृतिलाई संरक्षण गर्न विशेष कोष बनाउने प्रतिबद्धता जनाउनुभएको रहेछ। उहाँले दाफा बाजाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानगुन आर्जन गर्न यस विषयलाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने सोचअनुरूप काम गर्नेछु भनी प्रतिबद्धता व्यक्त गर्नु पनि यहाँको लागि राम्रो हो। इतिहास बोकेको कीर्तिपुरको संस्कृति संरक्षणमा मेयरका उम्मेदवारले चासो दिनु नगरप्रतिको जिम्मेवारी पनि हो।

यहाँ दाफा बाजासँगै पर्यटकीय मार्गमा नेवारी वास्तुकलाअनुसार घर निर्माण गर्न पनि जरुरी देखिएको छ। चिलञ्चो स्तूप, महाविहार र बाघभैरव क्षेत्रमा नेवारी वास्तुकलाअनुसार घरको पुनर्निर्माण गर्नु पनि अहिले जरुरी देखिएको छ।

कीर्तिपुरका सयौं वर्ष पुराना संरक्षणविहीन विहारको जीर्णाेद्धार गर्नुपर्ने अर्को काम पनि अहिले अपरिहार्य देखिएको छ। नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार हीराबहादुर महर्जनले पनि कीर्तिपुरलाई पर्यटकीय नगर बनाउन ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाको पुनरुत्थान र संरक्षणमा जुट्ने घोषणा गरिसक्नुभएको छ। यहाँ जसले जिते पनि गर्नुपर्ने कामहरू यिनै हुन्। यस विषयमा सबै मेयरका उम्मेदवार र दलले सोच्नै पर्ने कुरो छ।

यहाँ उत्पादित कपडाको बजार व्यवस्थापनका लागि सरकारी कार्यालय, सामुदायिक विद्यालय र सबै संस्थामा त्यही उत्पादित कपडाको अनिवार्य प्रयोगको व्यवस्था गरेमा यहाँका स्थानीयको आयस्रोत बढ्ने थियो। कीर्तिपुरमा मौलिक शैलीका घर बनाई बस्ती विकास गर्ने, नेवारसहित नगरपालिकाभित्र रहेका तामाङलगायत अन्य जातजातिको मौलिक संस्कृतिलाई प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पनि जरुरी छ। यी सबै कुरा हेर्दा सबै दलको घोषणापत्रमा उल्लेख गरेका र उम्मेदवारले प्रतिबद्धता जनाएका कुरा हुन्। यस विषयमा उम्मेदवारले पूरा गर्न सक्नुपर्छ। हारे पनि जितेकालाई सहयोग गरेर यी योजनाहरू पूरा गराउन दबाब दिनुपर्छ। जितेकाले पनि काम गर्नुपर्ने मेरो सुझाव छ।
– विनोद महर्जन, कीर्तिपुर

कालिकोटलाई मदिरामुक्त बनाऊँ
साह्रै विकट हाम्रो कालिकोटमा चेतनाको अभाव छ। यहाँको जीवनस्तर उठ्न नसक्नुमा विविध कारण रहेका छन्। यहाँ चेतनाको विकास गरी विकासको गति अगाडि बढाउन जरुरी देखिएको छ। स्थानीय निर्वाचनको यो समयमा यहाँ विभिन्न पार्टीका उम्मेदवार पनि भोट माग्दै हिँडेका छन्। उम्मेदवारहरू गाउँबस्तीमा आ–आफ्नो दलीय र व्यक्तिगत प्रतिबद्धता सार्वजनिक गर्दै मतदाता रिझाउन लागिपरेका छन्।

मतदाताको घर–घरमा जाने उम्मेदवारलाई मेरो सल्लाह छ– पहिले मदिरामुक्त बनाउने अभियान यहाँ लगरे जानुस्। यहाँ मदिराले घरेलु हिंसासहित धेरै अराजकता निम्त्याएको छ। मदिराका कारण यहाँ महिलामाथि कुटपिट, परिवार र छिमेकमा झै–झगडा बढेको बढ्यै छ। यहाँ स्थानीय मात्रै हैन, दलका कार्यकर्ता पनि सोमरसले मात्तिएर झगडा गरेको पाइन्छ। मदिरा नियन्त्रण गर्न सके कालिकोटका विकट गाविसमा दलहरूका कार्यकर्ताबीच हुने झै–झगडासमेत कम गर्न सकिन्छ। विविध कारणले देख्दा यहाँ दलले पहिले मदिरामुक्तको अभियान लिएर गएमा राम्रो हुने थियो कि ?
– समीर विक, कालिकोट

प्रतिक्रिया दिनुहोस्