वन पदाधिकारी चुनावी दौडमा



टीका बन्धन⁄काठमाडौं

स्थानीय तहको निर्वाचनका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन) का अधिकांश पदाधिकारी उम्मेदवार बनेका छन्। यही ३१ गतेको निर्वाचनमा नगरका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र सदस्यमा १ सय ६२ जना उम्मेदवार भएका छन्।

पहिलो चरणको निर्वाचनमा फेकोफोनका ६ पदाधिकारीले विभिन्न ६ जिल्लाको मेयरको उम्मेदवार बनेका छन्। काठमाडौंको शंखरापुर नगरको मेयरमा सुवर्ण श्रेष्ठ, नवलपरासीको गैंडाकोट नगरमा छत्र पौडेल, कृष्ण राना मगर गोरखा नगरपालिकामा मेयरको उम्मेदवार छन्। त्यसै गरी, मञ्जु मलासी डोटीको दीपायल सिलगढी, लालबहादुर महतरा छेडागाड र सोनाम छिरिङ लामाले मुगु नगरपालिकाबाट मेयरको उम्मेदवारी दर्ता गराएका छन्।

श्रेष्ठ र मगर महासंघको काठमाडौं र गोरखाका पूर्वजिल्ला अध्यक्ष हुन् भने मलासी महासंघकी वर्तमान केन्द्रीय कोषाध्यक्ष हुन्। पौडेल र लामा महासंघका वर्तमान केन्द्रीय सदस्य, महतरा जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्। नगर, गाउँपालिका र वडाका उपमेयर, प्रमुख र वडाध्यक्षका उम्मेदवारहरू फोकोफोनको वर्तमान कार्यसमितिमा केन्द्रदेखि जिल्ला तहको विभिन्न जिम्मेवारीमा रहेका महासंघका केन्द्रीय सचिवालय सदस्य ठाकुर भण्डारीले बताए।
त्यसै गरी विभिन्न ७ नगरमा ७ जना उपमेयरको उम्मेदवार बनेका छन्। भक्तपुरको मध्यपुर थिमीमा केदार खड्का, भीमेश्वर नगर दोलखामा कमला बस्नेत, सिन्धुलीको कमलामाई नगरमा मञ्जु देवकोटा, सविता रसाइली शुक्लागण्डकी नगर तनहुँ र सरिता हमाल शारदा नगर सल्यानबाट उपमेयरको उम्मेदवारका भएका छन्।

खड्का फोकोफोनका पूर्वजिल्ला अध्यक्ष थिए भने बस्नेत दोलखाकी वर्तमान जिल्ला अध्यक्ष, देवकोटा जिल्लाकी उपाध्यक्ष हुन्। रसाइली र हमाल वर्तमान कार्यसमितिका जिल्ला महासचिव हुन्। काठमाडौंको कीर्तिपुर र स्याङ्जाको पुतलीबजार नगरमा पनि सरस्वती खड्का र हीरादेवी शर्मा उपमेयरको उम्मेदवार बनेका छन्। खड्का फेकोफोनकी काठमाडौं जिल्ला सदस्य हुन् भने शर्मा पूर्वकेन्द्रीय सदस्य।

फेकोफोनमा आबद्धहरूमध्येबाट काभ्रे, मुस्ताङ र मकवानपुरका विभिन्न गाउँपालिका प्रमुखका उम्मेदवार भएका छन्। काभ्रेको झुल्लु, मुस्ताङको घरपझोङ र मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका प्रमुखमा क्रमशः कुमानध्वज कुँवर, शर्मिला गुरुङ, शिवराम थापा र भक्तबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ।
त्यसै गरी ९ जना विभिन्न जिल्लाका गाउँपालिका उपप्रमुखका उम्मेदवार भएका छन्। रत्ना घिमिरे, हेमगंगा मोक्तान, मीना अधिकारी, प्रेम कुमारी बुढा, कविता अर्याल, शर्मिला गुरुङ, शर्मिला पौडेल, ललिता अधिकारी, राधाकुमारी शर्मा घर्तीले क्रमशः तनहुँको म्याग्दे गाउँपालिका, सिन्धुपाल्चोकको लिराखु, आबुखैरेनी तनहुँ, मुस्ताङको घरपझोङ, स्याङ्जाको आँधिखोला, गोरखाको गण्डकी र सल्यानको छत्रेश्वर गाउँपालिका उपप्रमुखको उम्मेदवारी दर्ता गराएका छन्।

महासंघ निकटबाट उम्मेदवारी दर्ता गराउनेमध्ये करिव ९० प्रतिशत नेकपा एमाले निकट छन्। अन्य उम्मेदवार नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्र निकटका छन्। महासंघ आबद्ध पदाधिकारीलाई स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन महासंघको विधानले रोक नलगाएको सो संस्थाका केन्द्रीय अध्यक्ष गणेशबहादुर कार्की बताउँछन्। ‘महासंघका पदाधिकारी आसन्न निर्वाचनको उम्मेदवार बनेपछि हामीले विगतदेखि उठाउँदै आएका एजेन्डा र मुद्दाहरू अब झनै प्रभावकारी ढंगले कार्यान्वयन हुने विश्वास लिएका छौं’, उनले भने– ‘वन पदाधिकारी अहिलेको निर्वाचनमा उठ्न विधान बाधक बनेको छैन।’

संघीय संरचनामा नगर प्रमुख र गाउँपालिकामा वनको कार्यालय रहनुपर्ने र स्थानीय तहको वनको अधिकार नगर र गाउँपालिका प्रमुखलाई दिइनुपर्ने भन्दै महासंघले वन मन्त्रालय र अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छ। तर, वन मन्त्रालय र सरोकारवाला निकायका कर्मचारीहरू भने प्रदेशभन्दा तल्लो तहका पदाधिकारीलाई वन अधिकार सुम्पिन नहुने लबिङमा जुटेको महासंघ पदाधिकारीको आरोप छ।

पछिल्लो तथ्यांकअनुसार सरकारले विभिन्न जिल्लाका १९ हजार ३ सय ६१ सामुदायिक वन समुदायलाई हस्तान्तरण गरेको छ। २२ लाख घरधुरीले १८ लाख हेक्टर वन क्षेत्रको व्यवस्थापन गर्दै आएको तथ्यांक छ। १ करोड २५ लाख उपभोक्ता प्रत्यक्ष⁄अप्रत्यक्ष सामुदायिक वनसँग जोडिएका सचिवालय सदस्य भण्डारीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्