‘महिला सक्षम छन् भन्ने देखाउन चाहन्छु’



काठमाडौं महानगरपालिकाका लागि उपमेयर पदकी उम्मेदवार ३७ वर्षीया राधिका महर्जन सो पदमा आफूले जित्ने दाबी गर्नुहुन्छ। नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले उहाँसँग गरेको कुराकानीः

ठूला पार्टीका उम्मेदवार लडिरहेका छन् यहाँ त एक्लै उठ्नुभयो त ?

अहिलेको अवस्थामा ठूल्ठूला पार्टीले महिलालाई त्यति महत्त्व दिएको देखिएन। महिलाको हक–हितका लागि महिला उम्मेदवारको खाँचो छ। समय परिस्थितिको मागले पनि उम्मेदवारी दिएको हुँ। राजनीतिमा लाग्ने रहरले पक्कै पनि उम्मेदवारी दिएको होइन।

महिलालाई ठूल्ठूला पार्टीले किन महत्त्व नदिएका होलान् त ?

ठूल्ठूला पार्टीले उम्मेदवारी दिन अहिले पनि महिलाको अधिकारमाथि खेलवाड गरेको र उम्मेदवारमा पुरुषलाई प्राथमिकता दिएको प्रस्ट छ। यो भनेको महिलाले ठूला पदमा सक्दैनन् भन्ने पुरुषको सोच पनि हुन सक्छ। उदाहरणका लागि एमालेले राप्रपासँग तालमेल मिलायो तर उपमेयरमा खोई त महिला ? असक्षम नै ठानेजस्तो देखियो। नत्र त महिला उम्मेदवारी दिन पार्टीहरूसँग धेरै कार्यकर्ता छन्। भन्नलाई संविधानमा महिला पुरुष बराबरी भनियो। त्यसैले पनि महिला सक्षम छन् भनेर नै देखाउन चाहन्छु म।

यतिकैमा जित हासिल हुन्छ र ?

जित–हारको भन्दा पनि महिलाले लड्नुपर्छ भन्ने सन्देश म दिन चाहन्छु। त्यसैले पनि स्वतन्त्र नै भएर पनि उम्मेदवारी दिएकी छु। यो चुनावमा उपमेयर पदमा उम्मेदवारी दिनेमा आदिवासी जनजातिको तर्फबाट म एक्ली उम्मेदवार हुँ। आजको माग युवा नेताको हो। म समाजसेवी र कर्मशील महिला पनि हुँ। यदि काठमाडौंका आदिवासी जनजातिले बुझेमा मेरो जित हुनेछ। मेरो जित भनेको काठमाडौंमा पहिलेदेखि बसोबास गरिआएका आदिवासी जनजातिको जित हुनेछ।

भावनात्मक कुराबाहेक चुनाव जित्न यहाँका एजेन्डा के–के छन् ?

मेरो एजेन्डा भनेको काठमाडौंमा पहिलेदेखि बसोबास गरिआएका आदिवासी र जनजातिलाई एक गर्ने हो। म पनि ज्यापु समुदायको हुँ। मैले यहाँ भएका आदिवासी र जनजातिको हक–हितका लागि लड्नेछु। उनीहरू अहिले विस्थापित हुने स्थिति भएकाले विस्थापित हुनबाट रोक्नेछु। ठूला पार्टीका उम्मेदवारले यस्तो गम्भीर विषयलाई उठाएकै छैन। यसैले पनि मैले काठमाडौंबासीको स्नेह र मत पाउँछ भन्ने आशा गरेकी छु।

अरू पनि योजनाहरू छन् कि ?

छ नि। काठमाडौंलाई प्रदूषणमुक्त गर्ने, काठमाडौंबासीलाई पिउने पानीको व्यवस्था गर्ने। भूकम्पले भत्केका मठ–मन्दिर बनाउने, काठमाडौंका आदिवासी जनजातिसँग भिजेका संस्कृति जगेर्ना गर्ने र प्रवद्र्धन गर्ने।

स्वयं पनि महिला भएको नाताले महिला हितका लागि के गर्दै हुनुहुन्छ ?

यसमा मेरो उद्देश्य भनेको महिला हिंसाको अन्त्य गर्ने र महिलामाथिको हेपाहा प्रवृत्तिलाई निर्मूल पार्न, महिलालाई अधिकार दिने हो। महिलालाई सक्षम तुल्याउने कार्यक्रमहरू ल्याउनेछु।

प्रतिक्रिया दिनुहोस्