स्वतन्त्र उम्मेदवारको पीडा, साँझमा चिह्न, रातारात फ्लेक्स– ’धन्न भ्याइयो’



सुनील महर्जन

आफ्नो चुनाव चिह्न आम मतदाता माझ ६ दिनभित्र चिनाउनुपर्ने थप चुनौतीसहित वैकल्पिक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले शनिबारदेखि चुनाव प्रचारप्रसार थालेका छन्।

संसद्मा प्रतिनिधित्व नभएका दल र स्वतन्त्र उम्मेदवारहरूले शुक्रबार सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न पाएका थिए।

संसद्मा प्रतिनिधित्व नभएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न दिने कानुनी प्रावधान रहेको छ। सोहीअनुरूप संसद्मा २७ दलले चुनाव चिह्न पाएका थिए। अन्य दल र स्वतन्त्र उम्मेदवारलाई आयोगको मतपत्रमा पहिल्यै रहेको स्वतन्त्र समूहको चिह्नबाट छानेर दिइएको हो।

चुनाव चिह्न पाएलगत्तै वैकल्पिक शक्ति र स्वतन्त्र उम्मेदवारले शुक्रबार रातारात चुनाव चिह्नसहित पर्चा र फ्लेक्स प्रिन्ट गरेका थिए। ‘शुक्रबार साँझ मेरो चुनाव चिह्न क्यामेरा र उपप्रमुखको उम्मेदवारको चिह्न सेलरोटी भनेर निर्वाचन अधिकृत कार्यालयबाट थाहा पाएँ। थाहा पाउने बितिक्कै रातारात फ्लेक्स प्रिन्ट गर्न पठाइयो’ –ललितपुर महानगरपालिकाका लागि साझा पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका रमेश महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो। साझा पार्टीको प्रतिनिधित्व संसद्मा नरहेकाले निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा उनीहरूलाई चुनाव चिह्न प्रदान गरेको हो।

महानगरपालिकाका मेयरका उम्मेदवार महर्जन र उपमेयर शोभा शाक्यले हिजो कार्यविनायकबाट घरदैलो अभियान शुरु गर्नुभएको थियो। उम्मेदवार महर्जन चुनाव प्रचारको पहिलो दिन महानगरपालिकामा गाभिएका साविकका गाविस बुंगमति, खोकना र सानो खोकनामा घरदैलो कार्यक्रममा जानुभएको थियो। ‘६ दिनभित्र आ–आफ्नो क्षेत्रलाई ओगटेर घरदैलो कार्यक्रम गर्न ठूला दललाई गाह्रो छ। हामीलाई झन् गाह्रो नहुने कुरै भएन। त्यसमाथि हामीजस्ता स्वतन्त्र उम्मेदवार र वैकल्पिक राजनीतिक दललाई आम मतदातामाझ आफ्नो चुनाव चिह्न थाहा दिनुपर्ने थप चुनौती छ’ –महर्जनले भन्नुभयो।

लामो समयसम्म सत्ताको बागडोर सम्हालिसकेका प्रमुख राजनीतिक दलहरूको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएको वैकल्पिक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू बताउँछन्। यस्तो अवस्थामा चुनाव प्रचारप्रसारको अवधि निकै कम हुनुको मार पनि स्वतन्त्र उम्मेदवार र वैकल्पिक राजनीतिक दलहरूलाई परेको महालक्ष्मी नगरपालिकामा मयेरका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका रामचन्द्र थापामगरको धारणा रहेको छ।

‘चुनाव चिह्न पाएपछि राति ९ बजे पर्चा छाप्न प्रेसमा पठाएँ। प्रविधिको जमाना भएकाले गर्दा मात्रै नत्र कहाँ रातारात पर्चा र फ्लेक्स प्रिन्ट गर्न सकिन्थ्यो र ?’, उम्मेदवार मगरले भन्नुभयो– ‘चुनाव प्रचारको समय जति कम भयो, त्यति फाइदा ठूला दललाई मिल्छ। उनीहरूलाई चुनाव चिह्न मतदातामाझ चिनाउनुपर्ने आवश्यकता रहन्न।’ निर्वाचन आयोग पनि ठूला दलको इशारामा चलेकाले वैकल्पिक राजनीतिक दल र देशका लागि केही गर्दछु भनेर उम्मेदवारी दिएकाहरूलाई कठिनाइ भएको उम्मेदवार मगरको कथन रहेको छ। मगरसँगै महालक्ष्मी नगरपालिकाका लागि उपमेयरका स्वतन्त्र उम्मेदवार करुणा सुनार (खड्का) ले हिजो सो क्षेत्रमा मोटरसाइकल र्याली गर्नुभएको थियो।

उम्मेदवारले चुनाव प्रचार गर्न आयोगले ६ दिनको समय दिएको थियो। निर्वाचन हुने ४८ घण्टाअगावै मौन अवधि शुरु हुने भएकाले सो समयमा चुनाव प्रचारप्रसार गर्न आयोगले रोकेको छ। यसअनुरूप २८ गते रातिसम्म उम्मेदवारले आफ्नो पक्षमा चुनाव प्रचार गर्न पाउँछन्। स्थानीय तह निर्वाचन ऐनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि बढीमा १५ दिनको अवधि प्रचारप्रसारका लागि रहने व्यवस्था छ। ऐनमा यस्तो व्यवस्था गरिएपछि समयावधि कम हुनुको फाइदा ठूला दललाई पुग्ने ललितपुर महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रेमलाल महर्जनले बताउनुभयो।

निर्वाचनको कार्यक्रम नै ठूला दललाई सहयोग हुने गरी तय गरिएको पनि उम्मेदवार महर्जनको भनाइ रहेको छ। स्थानीय तहमा पनि ठूला दलहरू हावी गर्ने मनसायअनुरूप निर्वाचन कार्यक्रम तय गरिएको पनि महर्जनको आरोप रहेको छ। ‘जसरी भए पनि स्थानीय स्रोत साधन ठूला दलको हातबाट गुम्न नदिने उद्देश्यले चुनावप्रचारको सीमा कम गरिएको हो’ –महर्जनले भन्नुभयो। वैशाख ३१ मा हुने निर्वाचनका लागि आयोगले शुरुमा वैशाख १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तिथि तोकिएको थियो। दोस्रो चरणको निर्वाचन हुने निर्णयलगत्तै आयोगले उम्मेदवारको मनोनयन गत मंगलबारका लागि सारेको थियो। बुधबार उम्मेदवारको दाबी विरोध र बिहीबार मनोनयनको जाँचबुझसँगै शुक्रबार चुनाव चिह्न प्रदान गरिएको हो।

८३ दिनमा निर्वाचन गराउनुपर्ने र त्यसमाथि निर्वाचन कार्यक्रम सारिएकाले निर्वाचन कार्यक्रम निकै कसिलो बनाउनुपरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। ‘चुनाव गराउन सामान्यतया १ सय २० दिन चाहिन्छ। तर, ८३ दिनमा चुनाव घोषणा भयो। यसले गर्दा चुनाव प्रचारप्रसार गर्ने अवधि छोटो भएको गुनासो आएको हो’ –प्रवक्ता शर्माले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्