५ वर्षमा गर्व गर्न लायक काठमाडौं



विद्यासुन्दर शाक्य
एमालेको तर्फबाट काठमाडौं महानगपालिकाका मेयरका उम्मेदवार

एमाले काठमाडौं जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्नुभएको छ। यसअघिका स्थानीय निर्वाचनमा काठमाडौंको वडा नं. २१ बाट वडाध्यक्ष निर्वाचित भएका उनी नगरका आम समस्यासँग परिचित रहेको दाबी गर्नुहुन्छ। चुनावी तयारीबारे नेपाल समाचारपत्रले उहाँसँग गरेको कुराकानीका मुख्य अंशः

तपाईंले चुनाव जित्ने आधार के–के छन् ?
नेकपा एमाले केन्द्रदेखि तल्लो तहसम्म निकै बलियो र राम्रो संगठन भएको पार्टी हो। काठमाडौं महानगरपालिकाको सन्दर्भमा मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको पार्टी पनि एमाले नै हो। सुख–दुःखमा साथ दिएको पार्टी पनि एमाले नै हो। अहिले एमाले महानगबासीका लागि स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त र कार्यक्रमले मात्र होइन आत्मीयरूपले पनि नजिक छ।

मैले काठमाडौंमा मेयर जित्ने तेस्रो आधार भनेको म दुई–दुई पटक यही महानगरपालिकाका जनताबाट चुनिएको जनप्रतिनिधि हुँ। काठमाडौंको वडा २१ बाट म दुई पटक जनप्रतिनिधि भएँ। पहिलोपटक म वडा अध्यक्ष भएर गरेको कामको मूल्यांकन गरेर फेरि २०५४ सालमा भएको स्थानीय निर्वाचनमा जनताले मलाई भारी मतसहित विजयी गराउनुभयो। यसले मलाई महानगर बुझ्न निकै सजिलो भएको छ।

कांग्रेस–माओवादी तालमेललाई कसरी मूल्यांकन गर्नुभएको छ ?

पहिलो कुरा त काठमाडौंमा कांग्रेस–माओवादीबीच तालमेलको हल्ला मात्र हो। म आफैं पनि कांग्रेस–माओवादीका साथीहरूसँग निरन्तर सम्पर्कमा छु। उहाँहरूले कुनै पनि हालतमा तामलेल नहुने भन्नुभएको छ। शीर्ष तहमा तालमेल भयो भने पनि स्थानीय कार्यकर्ताहरूले त्यसलाई अस्वीकार गर्ने चेतावनी दिँदै आउनुभएको छ।

कांग्रेसको तयारीलाई कसरी लिनुभएको छ ?

कांग्रेसले अहिलेसम्म पनि जनताका बीचमा कुनै घोषणपत्र वा प्रतिबद्धतापत्र लैजान सकेको छैन। कांग्रेसका उम्मेदवार पार्टीकै घोषणापत्रलाई बोकेर अहिले काठमाडौंमा हिँडिरहनुभएको छ। यसले पनि कांग्रेस कतिसम्म अस्तव्यस्त पार्टी हो भन्ने कुराको प्रमाणित हुन्छ।

काठमाडौंमा एमाले–राप्रपाबीचको तालमेलपछि एमालेका महिलाहरू पनि रुष्ट भएको चर्चा छ नि ?

महिला सशक्तीकरण र सामाजिक न्यायका लागि एमाले जति अरू कुनै पनि पार्टी लडेका छैनन् । सबै स्थानीय तहमा मेयर वा उपमेयरमध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था एमालेकै पहलमा भएको हो।

महिला राष्ट्रपति र महिला सभामुख एमालेकै पालामा भएको हो, यो कुरा म सबैलाई स्मरण गराउन चाहन्छु। नेताका छोरी–बुहारीलाई मेयर बनाउन अप्राकृतिक गठबन्धन गर्ने साथीहरूले हामी महिलामैत्री हौं भनेर गर्व नगर्दा हुन्छ। एमालेले संगठनमा काम गरेका, अनुभवी महिलालाई प्रथामिकता दिएको छ।

अहिले तपाईंले के–कस्ता प्रतिबद्धता लिएर जनताका बीचमा जानु भएको छ ?

म काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि ५ वर्षमा यो शहर दक्षिण एसियाकै सबैभन्दा बसोबास गर्न लायकको शहर हुनेछ। ५ वर्षभित्र यस शहरलाई शिक्षा, व्यवसाय तथा विभिन्न अवसरहरू प्राप्त हुने र गर्व गर्न लायक शहरका रूपमा विकास गर्नेछु।

आगामी ५ वर्षमा एक–आपसमा हातेमालो गर्दै समुदायलाई सशक्तीकरण गरेर व्यवसाय गर्ने र आनन्दको जीवन बिताउन सक्ने वातावरण तयार हुनेछ। म निर्वाचित भएपछि काठमाडौंलाई एक दिगो शहरका रूपमा विकास गर्नेछु। जहाँ हरित पूर्वाधार, शहरी कृषि, वैकल्पिक यातायातलगायत रहनेछन्।

भूकम्पपछिको पुनर्निर्माणमा तपाईंको योजना के छ ?

भूकम्पबाट क्षति भएका भौतिक संरचनालाई पहिलाको भन्दा अझ अत्याधुनिक र नयाँ ढंगले निर्माण गरिनेछ। त्यसका ‘वल्र्ड हेरिटेज सिटी’ का लागि भित्री काठमाडौंलाई ‘रिभाइभ र रिग्रेट’ गरिनेछ। यो योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु। यस्ता थुप्रै योजना छन्। भूकम्पपछि थिलथिलो भएको महानगरपालिका जुरुक्क उठ्नेछ।

प्रतिक्रिया दिनुहोस्