सोनापुर सिमेन्टको अझै मनपरी



प्रशान्त वली, दाङ
दाङको बिजौरी–१ दूधरासमा स्थापना भएको सोनापुर सिमेन्ट उद्योगले स्थानीबासीलाई दिएका प्रतिबद्धताहरू कार्यान्वयन नगरेको रहस्य खुलेको छ। स्थानीयबाट कुनै प्रकृतिको विरोध नआओस् भनेर थामथुम गर्न बाचा गरिए पनि प्रतिबद्धताहरू पूरा नगरेको स्थानीयको गुनासो छ।

सिमेन्ट उद्योग प्रभावित सरोकार समिति गठन भए पनि केही दिन आन्दोलन हुने र प्रशासन समक्ष माग पूरा गरिदिन्छु भने पनि पछि बेवास्ता गर्ने गरिएको छ। उद्योगका कारण स्थानीय निकै प्रभावित भएका छन्। उद्योग क्षेत्रभित्र रहेका स्थानीय, नजिकै रहेका संघसंस्था, विद्यालय, सडक तथा खानेपानीका संस्थालगायतले राखेका माग उद्योग प्रशासनले पूरा गरिदिने भने पनि कुनै सुनुवाइ नभएको पाइएको छ।

औद्योगिक क्षेत्रका कारण स्थानीयलाई निकै समस्या भएको छ। आफूहरू धूवाँ र धूलोको सिकार भएको र केही रोग लागिहाल्छ कि भन्ने डर पैदा भएको स्थानीय अमृत डाँगीले नेपाल समाचारपत्रसँग गुनासो पोख्नुभयो। उहाँले भन्नुभयो– ‘उद्योग त स्थापना भएको छ तर विकासको नाममा विनाश पो हुने हो कि भन्ने शंका लाग्न थालेको छ। उद्योग स्थापना भएदेखि हामीहरू निकै पीडित भएका छौं। यहाँ बसेर गरी खान सकिएला जस्तो लाग्दैन।’

सोनापुर सिमेन्ट उद्योगलाई आवश्यक पर्ने चुनढुंगा उत्खननका लागि सडक खन्ने क्रममा बेलझुन्डी खानेपानीको मुहानसमेत प्रभावित बनेको छ।

चुनढु·ा उत्खननका लागि सोनापुर सिमेन्ट प्रालिले रोल्पाको डुब्रिङमा बस्ती नै किनेको बताएको स्थानीय पत्रकार गोकर्ण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रालिले प्रतिरोपनी १ लाखमा किने तापनि वास्तविक जग्गा धनीले प्रतिएक रोपनीको ९५ हजार रुपियाँ मात्र प्राप्त गर्ने गरेको बताइएको छ। करिब ४० घर रहेको यो बस्तीका अधिकांशले बिजौरी क्षेत्र र केही नारायणपुर त केहीले घोराही क्षेत्रमा जग्गा किनेका छन्। उद्योगले विरोध नआओस् भनेर दूधरास क्षेत्रमा रहेका विद्यालयहरूलाई आर्थिक र भौतिक सहयोग गर्ने वचनबद्धतासमेत दिँदै आएको छ। तर, वचनबद्धता कागजमा मात्रै सीमित भएको स्थानीय रमा पोख्रेलले बताउनुभयो। पोख्रेलले भन्नुभयो– ‘उद्योगले धूलो नाप्ने यन्त्र जडान गरेको छ। यन्त्रले धूलो उड्दैन भन्ने देखाए पनि त्यो पीडा यहाँ बस्ने मान्छेलाई मात्र थाहा छ।’

उद्योग मन्त्रालयबाट सडक डिभिजन कार्यालय घोराहीले सोनापुर सिमेन्ट प्रालिका लागि कच्चा पदार्थ ल्याउन दूधरास–छिल्लीकोट हुँदै रोल्पा पुग्ने सडक निर्माणका क्रममा ढु·ा–माटोका कारण वर्षायाममा समस्या पैदा भएको थियो। बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले योजना शुरु गर्दा २०३५ सालमा निर्माण गरिएको स्थानमा मुहानस्थल रहेको छ। त्यस क्षेत्र वरपर ढु·ा–माटोसमेत थुप्रिएको छ। जुनढु·ा माटोका कारण वर्षायाममा मुहानमा समेत क्षति पुग्ने सम्भावना रहेको बताइएको छ। हाल सो मुहानको पानी नजिकैबाट तुलसीपुर उप–महानगरपालिका वडा नं. १९ तल्लाकोटका स्थानीयहरूले सिँचाइ, खानेपानी र घट्ट सञ्चालनमा ल्याएका छन् भने बेलझुण्डी खानेपानीले समेत प्रयोगमा ल्याएको छ।

यसैबीच, उद्योग प्रशासनले पटक–पटक उद्योगमैत्री वातावरण बनाउने भनेर स्थानीयबासीलाई आश्वासन दिँदै आएको छ। साढे ५ अर्ब रुपियाँ लगानी रहेको सो उद्योगले अहिले दैनिक १ हजार ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ। निकट भविष्यमै ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ। धुँवा नियन्त्रणका लागि साइलेन्सर र धूलो नियन्त्रणका लागि ईएसटी जडान गरिएको उद्योगका प्रबन्धक रेवन्त ढकालले जानकारी दिनुभयो। उद्योगमा २ सय ८० कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्