‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गरिने महरा चीन जाँदै



काठमाडौं, (नेस)
चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड’ (ओबीओर) परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट नेपाल–भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्नेे निर्णय गरेको हो।

बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो। ‘यही वैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, उहाँले भन्नुभयो– ‘प्रतिनिधि मण्डलले ‘वान बेल्ट वान रोड’ को एमओयूमा हस्ताक्षर गर्नेछ।’ यस्तै सोमबारको बैठकले काठमाडौं उपत्यकाको चारै शहरमा नयाँ व्यवस्थित शहर निर्माण गर्ने पनि निर्णय गरेको छ।

उपत्यकामा भएको बढ्दो चाप घटाई व्यवस्थित बसोबासका लागि नयाँ शहर निर्माणको निर्णय गरेको हो।

बैठकले सुनसरी, मोरङ र ताप्लेजुङमा मृत्यु भएका ७ जनालाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी, वैशाख २९ गतेदेखि थाइल्यान्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि सोमबारको बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्