कृति सार्वजनिक



काठमाडौं, (नेस)
अक्सिजन कवि उपनामले परिचित स्रष्टा बालकृष्ण अधिकारी ‘धनकुटे’ को सम्झनामा राजधानीमा सोमबार विशेष कार्यक्रमको आयोजना गरियो।

अधिकारीको प्रथम वार्षिकीमा आयोजित समारोहमा उनकी छोरी बिन्दु अधिकारी ढकालको कविता कृति ‘बिन्दुहरू’ तथा बुहारी यमुना पराजुली अधिकारीको गजल कृति ‘जलशा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, गजलकारद्वय ज्ञानुवाकर पौडेल तथा शीतल कादम्बिनी तथा पत्रकार अखण्ड भण्डारीले संयुक्तरूपमा विमोचन गर्नुभयो।

कार्यक्रममा कृतिकारद्वय बिन्दु र यमुनाले बुबा बालकृष्णको प्रेरणाले आफूहरू साहित्य सिर्जनाको गोरेटोमा हिँडेको बताउँदै कृति दिवंगत कविको तस्वीरमा सांकेतिकरूपमा समर्पण गर्नुभएको थियो।

पुस्तक सार्वजनिक गर्दै उपकुलपति घिमिरेले नयाँ पुस्तामा नेपाली भाषा तथा सामाजिक संस्कारमा ह्रास आइरहेका बेला दुई चेलीले पिताको पथ समातेर अनुकरणीय कार्य गरेको बताउँदै सिर्जनशील जीवनका लागि शुभकामना प्रदान गर्नुभयो।

गजलकार ज्ञानुवाकर पौडेलले विमान उड्नुअघि धावनमार्गमा दौडाए जस्तै उदीयमान स्रष्टाद्वयका कृति धावनमार्गमा राम्ररी कुदेको र आगामी दिनमा आकाशमा उचाइ लिएर उडाउन अझै मेहनत गर्न सुझाउनुभयो। विमोचित कृतिहरूका बारेमा कवि सुरेश हाचेकाली, कवि ओमकार प्रथा, गजलकारद्वय जितेन्द्र रसिक र श्रीराम राईले पनि टिप्पणी गर्नुभएको थियो। बिन्दुको पहिलो कृति ‘बिन्दुहरू’ मा ५० थान कविता रहेका छन् भने यमुनाको पहिलो पुस्तक ‘जलशा’ मा ७५ थान गजल समावेश छन्।

प्रतिक्रिया दिनुहोस्