“कुम्लो” बोकेर खटिए कर्मचारी



मोतीराम तिमल्सिना, काभ्रे
सोमबार दिउँसो हस्याङफस्याङ गर्दै कर्मचारीहरू निर्वाचनसम्बन्धी सामग्रीको कुम्लो कसिरहेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले विकट गाउँपालिका खानीखोला र महाभारत, चौंरीदेउरालीमा खटिएका कर्मचारीलाई निर्वाचनसम्बन्धी सामग्री बुझाएको छ। ‘मंगलबार र बुधबार बिहानसम्म सबै कर्मचारी केन्द्रमा पुगिसक्छन्’, मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्यालले भने– ‘आज एक दिनमा मात्रै कर्मचारीको नियुक्तिका लागि १ करोड भुक्तानी भएको छ।’ खानीखोलाका १० र महाभारत गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतपत्रसमेत सोमबार नै बुझाइएको छ।

मुख्य निर्वाचन अधिकृतकको कार्यालयमार्फत मतदाताले मतदानका लागि प्रयोग गर्ने मतपत्र, कर्मचारीको नियुक्ति र पारिश्रमिक भुक्तानी भएको छ भने जिल्ला निर्वाचन कार्यालयले मतदानका लागि आवश्यक पर्ने सियोदेखि बाकस, मतदाताको परिचयपत्रसमेत बुझाएको छ। मतपेटिकासहितको सामग्री जिम्मा लिएका कर्मचारी सोमबार नै कार्यस्थल खटिएका छन्। सुरक्षाकर्मीको टोली पनि कर्मचारीसँगै खटिएको छ। यसअघि नै सशस्त्रको टोली जिल्लाका सबै निर्वाचन केन्द्रमा पुगेको छ। नेपाली सेनाको टोली पनि निर्वाचन केन्द्रको सुरक्षाका लागि खटिसकेको छ।

कर्मचारीको टोलीले २७ गते बुधबारदेखि सबै मतदान केन्द्रमा पुगेर चार दिनसम्म मतदाता परिचयपत्र वितरण गर्नेछन् भने ३१ गते मतदान सम्पन्न गराई निर्वाचनसम्बन्धीको कार्य सम्पन्न गरी निर्वाचन अधिकृतलाई मतपेटिका बुझाएर फर्किनेछन्। ‘पाँच दिनसम्मको भत्ता र आवतजावतका लागि रकम भुक्तानी गरिएको छ’, मुख्य निर्वाचन अधिकृत पौड्यालले भने– ‘सबै कर्मचारीले जिम्मेवारीपूर्वक काम सम्पन्न गर्न दुई दिनसम्म सञ्चालन गरिएको तालिममा जानकारी गराईएको छ।’ कर्मचारीको तालिम सोमबार मात्रै सकिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक निर्वाचन केन्द्रमा मतदाता भएको भन्दा ५ प्रतिशत थप मतपत्र पठाउनेछ। काभ्रेपलाञ्चोकका लागि २ लाख ३० हजार मतदाताका लागि कार्यालयले २ लाख ४९ हजार मतपत्र पठाएको छ। मतपत्रको थानमा बिग्रिएका मतपत्रलाई बदर भनेर सही छाप र केरमेट गरी प्याकिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्