काठमाडौँलाई नमुना सहर बनाउने प्रतिबद्धता



 

काठमाडौँ, २५ वैशाख । काठमाडौँ महानगरपालिका प्रमुखका केही उम्मेदवारले काठमाडौँलाई देशकै नमुना सहर बनाउने योजना रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार राजुराज जोशीले काँग्रेस पार्टी नै आफ्नो जित्ने प्रमुख आधार भएको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाका भत्केका भौतिक संरचनाको जीर्णोद्धार तथा पुनःनिर्माण आफ्नो मुख्य कार्ययोजना रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म काठमाडौँलाई धुलोरहित बनाउँछु, वाग्मती, विष्णुमती सफा राख्ने कार्यक्रम ल्याउनेछु, नदीनाला हरियाली राख्न सकेमा काठमाडौँ हराभरा हुनेछ ।” पाँच वर्षभित्र काठमाडौँमा निःशुल्क इन्टरनेट उपलब्ध गराइने पनि उहाँको योजना छ ।
नेकपा (एमाले)बाट कामपा प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले एमालेले राष्ट्र र राष्ट्रियताका लागि लिएको अडानका कारण आफ्नो विजय सुनिश्चित हुने जिकिर गर्नुभयो । काठमाडौँमा देखिएको यातायात तथा फोहरमैला समस्यालाई प्राथमिकतामा राखेर समाधान एवम् काठमाडौँका सम्पदाको संरक्षण तथा पुनःनिर्माण गरिने आफ्नो योजना सुनाउनुभयो ।
महानगरवासीको सुविधाका लागि छुट्टै विश्वविद्यालय र अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु, महानगरलाई समृद्ध, सुन्दर र जीवन्त बनाउँछु ।”

साझा पार्टीबाट कामपा प्रमुखका उम्मेदवार किशोर थापाले आफ्नो अध्ययन र अनुभव नै सहरी विकास भएकाले काठमाडौँको विकासका लागि आफू उपयुक्त उम्मेदवार भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो अध्ययन नै सहरी विकास हो, यही क्षेत्रमा मैले ३२ वर्ष लामो समयसम्म काम गरेको छु, नीतिगत तहमा रहेर काम गरेको छु, विभिन्न मन्त्रालयमा सचिव भएर काम गरेको छु ।”

यातायात, पानी र प्रदूषणमुक्त सहरको. योजना
काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवारसँग गरिएको ‘काठमाडौँ बहस’ नामको अर्काे कार्यक्रममा नयाँ शक्ति पार्टीका पवित्र वज्राचार्यले व्यवसायीको दबाबमा भक्तपुरमा साझा बस सञ्चालन हुन नसकेका बेला मोनो रेल कसरी आउँछ भनी प्रश्न गर्नुभयो । उहाँले आजको प्राथमिकता धुवाँरहित काठमाडौँ र साझा यातायातको विस्तार हो भन्नुभयो ।
नेकपा(माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले तत्कालका लागि मेलम्चीको खानेपानीले केही राहत दिने भए पनि दीर्घकालको सोचका लागि आकासे पानीलाई जमिनमुनि रिचार्ज गरेर भण्डारण गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

साझा पार्टीका थापाले सरकारले सार्वजनिक सवारी चलाउने र सरकारको पहुँच नभएका ठाउँमा मात्र निजी क्षेत्रलाई चलाउन दिनुपर्ने बताउनुभयो । आफूले भनेको सरकारले मान्नुपर्ने भन्ने व्यवसायीको गलत माग रहेकाले काठमाडौँको यातायात व्यवस्थापन जटिल भएको उहाँको भनाइ थियो । परिवार दलबाट प्रमुखका उम्मेदवार लक्ष्मी भण्डारीले सडकमा फुटपाथ हटाई साइकल लेन बनाउने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।
काष्ठमण्डप पुनःनिर्माण अभियानकर्मी आलोक तुलाधरले काष्ठमण्डपको पुनःनिर्माण ठेक्काबाट गर्न नहुने बताउँदै स्थानीय समुदायको सहभागितामा पुरानै कला संस्कृति झल्किने गरी पुनःनिर्माण गर्नेतर्फ महानगरको नेतृत्वले ध्यान पु¥याउनुपर्ने सुझाव दिनुभयो । इतिहासविद् डा रमेश ढुङ्गेलले देशको आवश्यकता र परम्परागत शैली नबिग्रने गरी मन्दिरको पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।
संस्कृतिविद् यज्ञमानपति वज्राचार्यले गुठी संस्थानले नेवार समुदायका महत्वपूर्ण इन्द्र जात्राजस्ता पर्वलाई मास्ने नियतका साथ जात्रा खर्च भनेर वार्षिक १२ रुपैयाँ २९ पैसा मात्र दिने गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा स्रोताले यातायात, मोनोरेलको सम्भावना, खानेपानीको दीर्घकालीन समाधान, भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा पाटीपौवाको पुनःनिर्माणमा नेवा वास्तु विधि प्रयोग, ढुङ्गेधाराको संरक्षण आदि विषयमा उम्मेदवारको ध्यानाकर्षण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्