जनभावनाको कदर होस्



मधेसको माग पूरा नभई स्थानीय निकायको निर्वाचनमा भाग लिएको भन्दै मधेसवादी दलभित्र अहिले भाँडभैलो मच्चिएको छ । मधेस आन्दोलनका नाममा एक भएका मधेसी दलहरू अहिले चुनावमा भाग लिने र नलिने पक्षबीचको मनमुटावका कारण उनीहरूबीच एकले अर्कालाई कारबाही गर्ने तवरमा पुगेका छन् ।

मधेस आन्दोलनका नाममा गठन भएको संघीय गठबन्धनबाट चुनावमा भाग लिएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको अध्यक्षबाट हटाउने निर्णय गरेपछि ती दलहरूबीचको बेमेल अहिले सतहमा आएको छ । आम नेपाली जनताको चाहना भनेको चुनाव हो । जनभावनालाई कदर गर्दै फोरम नेपालले चुनावमा भाग लिएपछि अन्य मधेसी दलले यादवलाई पार्टीबाट निष्कासन गरेर महन्थ ठाकुरलाई अध्यक्ष बनाएपछि अहिले मधेसी नेताहरूबीच आरोप–प्रत्यारोप हुनु पक्कै पनि राम्रो कुरा होइन ।

मधेसको अधिकारका लागि एकजुट भएका दलहरूबीच यसरी फाटो आउनु कसैका लागि पनि हित हुने देखिँदैन । जनताको चाहना विपरीत दलहरू जान खोज्नुलाई राम्रो कदम भन्न सकिँदैन । मधेसी दलहरूले प्राप्त उपलब्धिको रक्षा गर्दै जनचाहनालाई सम्बोधन गर्नु अहिलेको आवश्यकता हो । जनताको चाहना विपरीत गएर कुनै पनि दललाई आन्दोलन गर्ने अधिकार पनि छैन । यसमा दलहरूले ध्यान दिनु जरुरी छ । मेरो गोरुको बाह्रै टक्का भन्ने मधेसी दलको भनाइ न्यायोचित र मनासिब पनि देखिँदैन । लामो संघर्षपछि प्राप्त अधिकारको संस्थागत गर्दै अगाडि बढ्नु ती दलका लागि श्रेयष्कर हुन्छ । नेपाली जनताको लामो त्याग र तपस्यापछि प्राप्त अधिकारको रक्षा गर्न सकिएन भने त्यो उपलब्धि गुम्ने खतरा अहिलेको राजनीतिक घटनाक्रमले देखाएकाले अधिकारका लागि लडिरहेका मधेसी दलहरूले सोच्ने बेला भएको छ ।

संविधान संशोधनको मुद्दामा सधैँ अल्झिरहने होइन, जनचाहनाको कदर गर्न सक्नुपर्दछ । जनताको चाहना स्थानीय निकायको चुनाव होस् भन्ने नै हो । त्यसलाई बेवास्ता गरेर आन्दोलन–आन्दोलन भन्ने हो भने मुलुक कहाँ पुग्ला ? मधेसी दलहरूले यो कुरालाई हृदयङ्गम गर्नै पर्छ । मधेसी–मधेसीबीच फुट आउनु पक्कै पनि राम्रो संकेत होइन । मधेसी दलका नेताहरूले यस कुरालाई चिन्तन–मनन गर्नुपर्छ । जनचाहनाबमोजिम चुनावमा भाग लिँदै बाँकी उपलब्धिका लागि संघर्ष गर्नु मधेसी दलको हितमा छ । यसतर्फ उनीहरूको ध्यान जान सकोस् ।

प्रतिक्रिया दिनुहोस्