कामनाको संगीत विशेषांक बजारमा



सिने मासिक कामनाले नेपाली संगीतको इतिहासमै पहिलोपटक नेपाली गीत–संगीतका विविध पक्षलाई समेटेर संग्रहणीय सांगीतिक विशेषांक प्रकाशन गरेको छ। ३ सय ४२ पुराना तथा नयाँ लोकप्रिय एवं सदाबहार गीतहरूको कोर्डसमेत समेटिएको यो विशेषांक कामना न्युज पब्लिकेसन्सले आइतबार बजारमा ल्याएको हो। कामनाले ३३ वर्षको ऐतिहासिक यात्रामा पहिलोपटक भर्जिनको सहकार्यमा गीत लहर नाममा पहिलो संस्करणस्वरूप संगीत विशेष अंक बजारमा ल्याएको हो। नेपाली गीत–संगीतको प्रवद्र्धन र विकास एवं यस क्षेत्रका अमर श्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रकाशन गरिएको यो विशेषांकमा नेपाली गीत–संगीतको विकास र प्रवद्र्धनमा योगदान पुर्याउने अमर साधकदेखि ख्यातिप्राप्त गायक, गायिका, गीतकार र संगीतकारहरूको सिंगो जीवनी प्रकाशित गरिएको छ।

२ सय ५० रुपियाँ मूल्य रहेको कामना भर्जिन गीत लहरको पहिलो संस्करणमा संगीतकार दीपक जंगम, गायक दीप श्रेष्ठ, योगेश वैद्य, प्रेमध्वज प्रधान, ओमविक्रम विष्ट, मुक्ति शाक्य, गायिका मीरा राणा र गीतकार यादव खरेलको सांगीतिक जीवनीका साथमा रोचक किस्साहरू तथा प्रेरणादायी एवं मर्मस्पर्शी घटनाहरू समेटिएका छन्। विशेषांक १ सय ९६ पृष्ठको रहेको छ।

नेपाली गीत–संगीतका मूर्धन्य व्यक्तिहरूको जीवनी तथा नेपाली गीत–संगीतका कोर्डहरू समावेश गरिएको बृहत् विशेषांकबाट गीत–संगीतकर्मीका साथमा यसका विद्यार्थी तथा संगीतप्रेमीहरूले यथेष्ट लाभ हासिल गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्