सशस्त्र प्रहरीको भवन निर्माण



नेपाल समाचारपत्र
गुल्मी
सशस्त्र प्रहरी बल नेपाल गुल्म, गुल्मी स्थापना भएको चार वर्षपश्चात कार्यालय भवन बनाउने कार्य शुरू भएको छ। सशस्त्र प्रहरी बल गुल्म उर्लेनीको हाताभित्र निर्माण हुन लागेको भवनको आइतबार आन्तरिक रूपमा आयोजना गरिएको एक कार्यक्रमका बीच शिलान्यास भएको छ। पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक सुबोधकुमार अधिकारीले एक समारोहबीच शिलान्यास गरेका हुन्।

कुल लागत ३ करोड ५८ लाख रहेको गुल्म परिसरभित्र ६ वटा भवन निर्माण हुनेछन् जसमा ब्यारेक, कार्यालय भवन, गुल्मपति निवास तथा मेस भवन रहेको सशस्त्र प्रहरी बल गुल्म गुल्मीले जनाएको छ। आशिष र सुनिल समिर जेभी भरतपुर–१० चितवनले निर्माण कार्यको जिम्मा पाएको र स्थिति प्रतिकूल नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुने निर्माण व्यवसायी नारायण पोख्रेलले जानकारी दिए।

निर्माण कार्यको शिलान्यासपश्चात बाहिनीपति सुबोधकुमार अधिकारीले गुल्ममा कार्यरत राष्ट्रसेवकलाई सम्बोधन गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा दत्तचित्त भएर लागी भयरहित तथा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न मानव अधिकारको सदैव सम्मान गर्दै इमानदारिता, जिम्मेवारिता र कर्तव्यनिष्ठताका साथ लाग्न निर्देशन दिएका छन्।

सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दिगविजय सुवेदीले निर्माणसम्बन्धी, गुल्मको विविध समस्या तथा निर्वाचन सुरक्षाका लागि गुल्मको तयारीको बारेमा बाहिनीपति अधिकारीलाई जानकारीसमेत गराएका थिए।

प्रतिक्रिया दिनुहोस्