दिनदिनै गाडी पोलिँदै



सीताराम अधिकारी, धादिङ
उम्मेदवारले प्रयोग गरेको गाडीमा आगो लाग्ने क्रम देखिएपछि उम्मेदवारहरूले सुरक्षाको माग गर्न थालेका छन्। शनिबार राति नेपाली कांग्रेसले चुनावका लागि प्रयोग गरेको दुईवटा गाडीमा आगजनी भएको छ। कांग्रेसले धुनीबेंसी नगरपालिकाका लागि प्रयोग गरेको बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नंको जिप्सी गाडीलाई धुनीबेंसी नगरपालिका–५ बटारमा रोकी राखेको ठाउँमा अज्ञात समूहले जलाएको हो।

चुनावी कार्यक्रमबाट फर्केपछि राति रोकेर राखेको ठाउँमा बेलुका १०ः३० बजेतिर जलाइएको नेपाली कांग्रेसका विदुर अकौलियाले जानकारी दिए। नेकपा एमालेका वडा अध्यक्षले प्रयोग गरेको गाडीमा शनिबार बिहान आगजनी भएको छ। थाक्रे गाउँपालिका–२ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष उम्मेदवार रहेका राजकुमार पौडेलले प्रयोग गर्ने प्रयोग गरेको बा९च ८९२९ नंको गाडी आगजनी गरिएको हो। राति ३ जना माओवादी कार्यकर्ता ३ वटा बोतलमा पेट्रोल लिएर आएको र उनीहरूले गाडीको सिसा फुटाएर पेट्रोल हालेर गाडीमा आगजनी गरिएको नेकपा एमालेका रमेश आचार्यले जानकारी दिए।

घर अगाडि पार्किङ गरेर राखिएको गाडी आगो लगाइएपछि ३ जना माओवादी कार्यकर्ता आगराखोलातर्फ भागेको छिमेकीले देखेर हारगुहार गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान शुरू गरेको र दोषी पत्ता लगाई कारबाही गरिने प्रहरी उपरीक्षक शरद खत्रीले जानकारी दिए। गाडीमा आगजनी गरिएका व्यक्तिहरूको पहिचान हुन बाँकी रहेको खत्रीको भनाइ छ।

आचारसंहिता विपरीत कार्य
निर्वाचनको दिन आउँदै गर्दा आचारसंहिता विपरीतका कार्यहरू दिनदिनै भइरहेका छन्। सार्वजनिक क्षेत्रका चुनाव प्रचार गर्न नपाइने, सार्वजनिक स्थानमा चुनावका सामग्री र पार्टीको झन्डा राख्न पाइने आचारसंहितामा उल्लेख भए पनि ठूला राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका हुन्।

धादिङबेंसी बजारमा वैशाख २२ गते राति नेपाली कांग्रेसले बजारमा रहेका बिजुली र टेलिकमका पोलमा झन्डा राखेको छ। यसै गरी माओवादी केन्द्रले पनि सोलहरूमा झन्डा राखेको थियो। गजुरी बजारमा रहेको सडक बत्ती भएको स्थानमा नेपाली कांग्रेसले झन्डा राखेर प्रचार गरेको छ। मलेखुदेखि खानीखोलासम्मको क्षेत्रमा रहेका बिजुलीका पोलहरूमा पार्टीले प्रचार गरिररहेको देखिन्छ।
यसै गरी थाक्रे गाउँपालिका–१० देवल मा ०७४ वैशाख २२ गते नेकपा माओवादी केन्द्रले खसी काटेर मतदातालाई भोज खुवाएका छन्। खसी काटेर भोज खुवाउन धेरै मासु राखिएकोमा सबै मासु खाएर नसकिएपछि केही मासु माओवादीको पार्टी कार्यालयमा समेत लगिएको सोही गाउँबासीले जानकारी दिएका छन्। थाक्रे गाउँपालिका–१० ठूलो पोखरी चौतारामा माओवादी केन्द्रले झन्डा राखेर चुनाव प्रचार गरेको छ। जताततै आचारसंहिता उल्लंघन भइरहेको खबर प्राप्त भए पनि जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्दा निर्वाचन अधिकृतले नै यो विषय हेर्ने भएकाले आफूलाई आधिकारिक जानकारी नभएको जानकारी दिइयो। यसै गरी धुनीबेंसी नगरपालिकामा चुनाव प्रचारका लागि नेपाली कांग्रेसले बालबालिकाको प्रयोग गरेको छ। चुनावी कार्यक्रममा लिएर बालबालिकालाई प्रयोग गरेको घटनालाई नजिकबाट देखेका पत्रकार आशिष ठकुरीले बताउनुभयो।

तालमेलपछि महिला फालिए
धादिङ जिल्लामा निर्वाचन तालमेलको क्रममा महिला फालिएका छन्। नीलकण्ठ नगरपालिकामा माओवादी र कांग्रेसले तालमेल गरेकोमा नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार कल्पना अधिकारीले उम्मेदवारी फिर्ता लिनुभयो भने माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार शोभा डंगोलले उम्मेदवारी फिर्ता लिनुभयो। जिल्लामा भएका ११ गाउँपालिका र २ नगरपालिकामध्ये कांग्रेस र माओवादीले ६ वटामा तालमेल गरेका छन्।

जसअनुसार थाक्रे गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका जिन्दी थापा, गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादीका गणेशलाल श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विनोद तिमल्सिना, बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादीको हरि डल्लाकोटीलाई तालमेलमा माओवादी कांग्रेसले उम्मेदवार बनाएको छ।

ज्वालामुखी गाउँपालिकामा माओवादीले उम्मेदवारी दिइएका महिला उम्मेदवारी लक्षमी थापा सहिद परिवार हुन्। उनलाई फिर्ता गरेर उम्मेदवार उठाइएपछि माओवादीभित्र व्यापाक असन्तुष्टि बढेको छ।

यसै गरी नीलकण्ठ नगरपालिकामा कांग्रेस आफू एक्लैले जित्ने भए पनि महिला नेतृ कल्पना अधिकारीको उम्मेदवारी फिर्ता गराएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ। नेकपा एमालेले भने जिल्लामा कुनै पनि दलसँग तालमेल गरेको छैन।

विप्लवका कार्यकर्ता गिरफ्तार
स्थानीय तह निर्वाचन भाँड्न हिँडेका १२ जना विप्लव माओवादी कार्यकर्तालाई शुक्रबार गिरफ्तार गरेको छ। चुनावमा लागेका नागरिकलाई धम्की दिने, चन्दा उठाउने र निर्वाचन भाँड्न निरन्तर लागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शरद खत्रीले जानकारी दिए।

नेकपा माओवादी विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुख बुद्ध गुरुङसहित मोहन घले, राजकुमार गुरुङ, राजु घले, सुन्दर लामा, धनबहादुर घले, मनोज घले, भीमबहादुर विक, वेलबहादुर लामा, सूर्य तामाङ, करन घले रहेका छन्।

उनीहरूलाई प्रहरीले हिरासतमा लिएको छ। अभियुक्तहरूलाई सार्वजनिक अपराध ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही चलाइने प्रहरीले जानकारी दिएको छ।

दक्षिणी धादिङको विभिन्न गाउँहरूमा पुगेर निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेको सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरिरहेको अवस्थामा गजुरी गाउँपालिका–२, गुम्बाडाँडाबाट गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्