चुनावको तयारी अन्तिम चरणमा



नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुन लागिरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनावका बारेमा आइतबार जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो। आयोग स्रोतका अनुसार सो अवसरमा प्रमुख निर्वाचन आयुक्तले सम्पूर्ण मतदान सामग्रीसहित मतदान अधिकृत स्थानीय तहमा पुगिसकेको जानकारी गराउनुभएको थियो।

सो अवसरमा प्रमुख आयुक्त यादवले विप्लव माओवादीले कतिपय जिल्लामा उम्मेदवारहरूलाई कुटपिट गर्ने,धम्क्याउने र अप्ठेरो पार्ने काम गरेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो।

उहाँले सरकारले निर्वाचन आचारसंहितालाई उल्लंघन हुने गरी कतिपय गतिविधि सञ्चालन गरेको संकेत गर्दै आचारसंहिता अनुकुल हुने गरी प्रशासनिक कार्य अघि बढाउन समेत आग्रह गर्नुभएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सरकारले जस्तोसुकै भूमिका निर्वाह गर्न तत्पर रहेको जनाउँदै आयोगबाट निर्वाचनका लागि भइरहेको व्यवस्थापकीय तयारीप्रति धन्यवाद दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्