नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने



काठमाडौँ, २४ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आज भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटका क्रममा मन्त्री डा महतले नेपालको संविधानमा गरिएको समावेशिता, मानवाधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासम्बन्धी प्रावधानको बारेमा प्रकाश पार्दै राज्यका हरेक अङ्गमा महिला एवम् जातीय समावेशिताबारे संविधानमा गरिएको व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

अमेरिकामा रहेका नेपालीका लागि अमेरिकी सरकारले प्रदान गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक एवम् बृहत्तर क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहयोगप्रति अमेरिकी जनता र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भूकम्पपछिको उद्वार र राहत एवम् पुनःनिर्माणमा अमेरिकाको सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गर्नुभयो ।

सो अवसरमा अमेरिकी नेत्री पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रशंसा गर्दै यसबाट अमेरिकाले पनि सिक्न सक्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्