काठमाडौंलाई व्यवस्थापन गर्ने योजनामा बज्रचार्य र अर्याल



नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली काँग्रसका राजुराज जोशी, नेकपा एमालेका विधासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोलसहिल चर्चामा रहेका एक उम्मेदवार पवित्र बज्रचार्य हुन् ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको तर्फबाट उनले महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका हुन् । चार पटक काठमाडौं महानगरपालिका २३ वडाका वडाध्यक्षमा निर्वाचित भएका बज्रचार्य यस अवधिमा कार्यवाहक मेयर भएर पनि काम गरिसकेका छन् ।

ठूला दलको कार्यशैलीमाथि प्रहार गर्दै बज्राचार्य मसाल चुनाव चिन्ह लिएर काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दैछन् । उनको गठबन्धनमा नयाँ शक्तिकी सविना अर्याल छिन् ।

मेयरका उम्मेदवारहरुले आ–आफ्नो चुनावी घोषणा पत्र तथा योजना पनि सार्वजनिक गर्ने क्रममा पवित्र बज्राचार्यले पनि उपमेयरकी उम्मेदवार सविना अर्यालसँग मिलेर आफ्नो योजना अघि सारेका छन् । बज्राचार्य र अर्यालले महानगरको विकास र समृद्धिको आफ्नो योजना सार्वजनिक गरेका छन् । काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, पर्यटकीय र व्यापारिक शहरका रुपमा विकास गर्ने उनीहरुको योजना रहेको छ ।

दुवै उम्मेदवार व्यवस्थापनका विधार्थी भएकोले काठमाडौ महानगरपालिकाको अहिलेको समस्यालाई व्यवस्थापन गर्ने सीप रहेको बताउँछन् । ‘हामी सपनाका व्यापार होइन र समस्याको व्यवस्थापन गर्ने छौं । ’उपमेयरका उम्मेदवार सविना अर्यालले घोषणापत्र सार्वजनिक गर्ने क्रममा भनिन् । घोषणापत्रमा महानगरपालिका भित्र अव्यवस्थित रुपमा रहेको सडक मर्मत, धुँवा धुलो, सडक बत्ती, खानेपानी ढल निकास र पार्किङ्गको व्यवस्थापन गर्ने कुरालाई जोड दिइएको छ । ‘अस्तव्यस्त शहरलाई व्यवस्थित गर्न मैले उम्मेदवारी दिएको हुँ ’ उम्मेदवार बज्रचार्यले भने ।

दुवैले गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनः स्थापित गर्ने र सडक विस्तार गर्नुपर्ने परिस्थिति सृजना भएमा जनताको घर जग्गा न्यायोचित मुआब्जा सहित वैकल्पिक व्यवस्था गरेरमात्र सडक विस्तार गर्ने बताएका छन् ।

उपत्यकामा धुँवा र धुलोले मानिसको स्वास्थ्यमा गम्भीर असर गरिरहेकोले त्यसको नियन्त्रण गर्ने, सडक बत्ति, खानेपानी ढलनिकासमा विशेष जोड दिइएको छ । राजधानीमा पार्किङको व्यवस्था गर्ने अर्को योजना छ ।

काठमाडौं जोड्ने तीव्रगतिको बाटोलाई यथाशिघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने र मेट्रो रेल, स्काइ ट्रेन र फ्लाई ओभरको निर्माण गर्ने उनीहरूको अवधारणा पत्रमा उल्लेख छ । महानगरपालिकाको पुरानो शहरको मौलिकता जोगाएर एकै दिनमा दशौं हजार पर्यटक आकर्षित हुने क्षेत्रको रुपमा विकास गर्ने पनि उनीहरुको योजना रहेको छ ।

महानगरपालिका भित्रको सांस्कृतिक पर्व सांस्कृतिक धरोहर, मन्दिर , बौद्ध विहार तथा अन्य धर्मावलम्बीहरुको सम्पदाहरुको संरक्षण गर्न विशेष योजना ल्याउने उल्लेख गरिएको छ । महानगरपालिकाभित्र नेपालीसंगै नेपाल भाषालाई कामकाजी भाषा बनाउने पनि उनीहरुको योजना रहेको छ ।

साथै महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कूटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी वर्गीकृत गर्ने योजना मेयर बज्रचार्य र उपमेयर अर्यालले अघि सारेका छन् ।
काठमाडौं उपत्यका तथा बनेपा, धुलिखेल, पनौती लगायित नजिकका सहरहरुको सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी,फोहोरमैला व्यवस्थापन, उद्योगधन्दा आदीको एकीकृत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनीहरूको प्रतिवद्धता छ ।
महानगरपालिकाभरि सीसीटिभीको सञ्जाल सहित स्मार्ट सुरक्षा नीति अपनाउने र अपराधमुक्त सहरको रुपमा विकास गर्ने योजना रहेको दुबैले बताएका छन् । प्रत्येक वडामा जेष्ठ नागरिक मैत्री तथा बाल उद्यान पार्क बिकास गरी फ्री वाइफाई जोनको व्यवस्था गर्ने, महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गामा व्यापारिक उद्देश्यले भवन निर्माणमा रोक लगाउने गरी कानुन बनाउने र नदी किनारका अव्यवस्थित र अतिक्रमण हटाई नदी किनारबाट बैकल्पिक सडक बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्