प्रधानमन्त्रीसँग अमेरिकी कंग्रेसका सदस्यहरुको भेट



बैशाख २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताउनु भयो ।

नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रधनमन्त्रीले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको सहयोग प्रशंसनीय छ ।
२ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पूनर्निर्माणका खेलेको भूमिका महत्वपूर्ण छ । त्यसका लागि यहाँहरुमार्फत् म अमेरिकी सरकार र जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्रीले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

भेटका अवसरमा प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिनुभयो ।

भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राख्नुभएको थियो ।

प्रतिनिधि मण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

भेटमा अमेरिकी कंग्रेसका सदस्यहरु जिम सेन्सेन्ब्रेनर, इलिट एञ्जेल, जिम एमसी गभर्न, बिट्टी एमसी कोलुम, जुडी चु, जोयी बिट्टी, प्रमिला जयपाल लगायतका अमेरिकी कुटनीतिक नियोगका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्