दीपक घाँटीको क्यान्सरसँग जुध्दै हिरो बन्ने सपनामा बलिउडको यात्रा, खलनायकमा सफलता



रश्मी थापा

लामो समयदेखि घाँटीको समस्यका व्यहोर्दै श्वासले बोल्न बाध्य अभिनेता तथा रंगकर्मी दीपक क्षत्रीलाई घाँटीको क्यान्सर भएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेको छ। ४ वर्षदेखि अस्वस्थ रहेका उनको घाँटीमा मासु पलाएका कारण आजाव दबिँदै गएको थियो भने चिकित्सकहरुले उनलाई घाँटीमा पलाएको मासु काट्नुपर्ने सल्लाह दिएका थिए। तर, क्षत्रीले उपचार खर्च अभावका कारण पूर्णरूपमा उपचार गराएका थिएनन्।

करिब ३ दशकदेखि नाटक, सानो पर्दा र ठूलो पर्दाका फिल्ममार्फत् कला क्षेत्रमा सक्रिय रहँदै आएका उनले केही समयअघि चलचित्र पत्रकार संघ नेपालको आह्वानमा विभिन्न संघ–संस्था र व्यक्तिहरुको पहलमा सहयोग पाएपछि नक्सालस्थित हिमाल अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा त्यहाँका डक्टरले क्यान्सर भएको पत्ता लगाएका थिए। ‘हिमाल अस्पतालमा बायोस्पी र सिटिस्क्यान गरेर हेरेपछि क्यान्सर भएको पत्ता लागेपछि मलाई हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा रिफर गरियो। क्यान्सर अस्पतालमा गयौं। क्यान्सरको पहिलो चरण भएकाले डेढ महिनासम्म हप्ताको ५ दिन रेडियो थरापी गर्नुपर्छ भन्नुभएको छ। त्यहाँ गरिएको बायोस्पी गरेको रिपोर्ट आउन बाँकी छ’, दीपकले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘बायोस्पी र घाँटीको सिटिस्क्यान रिपोर्ट आएपछि सोहीअनुसार उपचार अगाडि बढ्छ।’

क्षत्रीले चलचित्र पत्रकार संघ नेपाललगायतका विभिन्न संघ–संस्था र व्यक्तिहरुको सहयोगमा उपचार अगाडि बढाउन सम्भव भएको बताए। उनले उपचार प्रक्रिया खर्चिलो भएकाले अझै सहयोग रकमको आवश्यकता रहेको पनि खुलाए।

२०१७ सालमा चार दिदी र एक दाइपछि छैटौं सन्तानका रूपमा इलाममा जन्मिएका उनको २ बहिनी र २ भाइ छन्। उनी सानैमा परिवारसँगै बसाइँ सरी दार्जिलिङ गएका थिए। ‘दार्जिलिङमै हुर्केबढे प्लस टुसम्मको अध्ययनपछि हिरो बन्ने सपना बुनेर मुम्बई गएँ। एक फिल्मका लागि मुम्बईमा भएको पहिलो अडिसनमा पास पनि भएँ। अर्को अडिसन कलकत्तामा हुने भयो। अडिसन हुने दिन बिहान १० बजे नै पुग्नुपर्ने थियो। ३ दिनसम्म रेलयात्रा गरेर भनेको समयमै त्यहाँ पुगें।

थकित थिएँ, भोकै थिएँ। खाना र आरामको व्यवस्था पनि उनीहरुले गरिदिए। थाकेको हुनाले आरामका लागि बिहान ११ बजे सुतेको मान्छे ४ बजे मात्र ब्युँझिएछु, दीपकले नेपाल समाचारपत्रसँग कलायात्राको प्रारम्भिक दिनबारे खुलाउँदै सुनाए– ‘धन्न अडिसन चलिरहेको रहेछ। ३⁄४ मिनेट मात्र बाँकी रहेछ। हतार–हतार भित्र पुगें। त्यहाँ १० जना जज थिए। मलाई क्रमशः प्रश्नहरु सोधियो। पहिलो प्रश्न थियो तपाईंले क्यामेरा देख्नुभएका छ? मैले देवानन्द र हेमा मालिनीको सुटिङ हेरेकाले छ भनें। अनि सोध्दै गए मोटरसाइकल चलाउन आउँछ? स्विमिङ खेल्न आउँछ? हर्स राइडिङ आउँछ? प्रत्येक प्रश्नको जवाफमा आउँदैन भन्ने उत्तर आएपछि जजमध्येकै एक जनाले तपाईंलाई केही पनि आउँदो रहेनछ। तपाईंले फिल्म खेल्दा यी सबै कुराको आवश्यकता पर्छ त्यसैले ३ महिनाको ट्रेनिङ गर्न भन्नुभयो।’

दीपक ट्रेनिङ गर्न त तयार थिए। तर, घरबाट केवल १२ सय भारतीय रुपियाँ बोकेर मुम्बई हुँदै कलकत्ता हानिएका उनले मासिक ५ हजारका दरले १५ हजार बुझाएर ट्रेनिङ लिने आँट गर्न सकेनछन्। ‘अहिले त बुबाआमा दुवै हुनुहुन्न।

त्यतिखेर बुबा डेरी चलाउनुहुन्थ्यो। छोराको सपनाका लागि १५ हजार रुपियाँको व्यवस्था पनि गर्न सक्नुहुन्थ्यो। तर, त्यत्रो पैसा तिरेर ट्रेनिङ लिइसकेपछि कामै दिएनन् भने के गर्ने? खाली यो १८ वर्षको केटालाई ठग्न खोजेको हो कि भन्ने लाग्यो। त्यसैले जितेन्द्रको भाइ र हिरो हुने मौका पनि गुमाएँ’, दीपकले असफलताबाट शुरु भएको सफलताको कथा शेयर गर्दै भने– ‘फिल्म खेल्ने सपनै त्यागिदिएँ।’

हिरो बन्ने सपना बोकेर भारत गएका उनी आफ्नो सपना सहजै पूरा हुन नसकेपछि भवन निर्माणको काममा लागे। ‘मैले तुरुन्तै विल्डिङ कन्सट्रक्सनमा काम पाएँ। ५ वर्षसम्म त्यहाँ काम गरें। तर, पछि मेरो स्वास्थ्यमा समस्या आयो। पाइल्सको कारण म ४५ दिनसम्म केही गर्नै नसक्ने अवस्थामा पुगें। भएको पैसा पनि सकियो र आमालाई मलाई फेरि रोग बल्झियो, घर आउनका लागि पैसा पनि छैन २ हजार रुपियाँ पठाईदिनु भनें’, उनी सम्झँदै थिए– ‘यो सन् १९७८ को कुरा हो। त्यो बेला चिठीको जमाना थियो चिठी पुग्न धेरै दिन लाग्थ्यो २० दिनपछि पैसा र चिठी आयो र म घर फर्किएँ।’

कलकत्ताबाट बिरामी भएपछि घर फर्केका उनी आफ्नो स्वास्थ्य स्थितिमा केही सुधार भएपछि घरमै बसिरहन सकेनन्। किनभने उनीमा पहिलेदेखिकै हिरो बन्ने सपना थियो। ०३८ सालमा दार्जिलिङबाट नै अमर राईको निर्देशनमा शुभ कामना नामक नाटक लिएर नाट्य टोलीसँग काठमाडौं आए। ‘१ महिनासम्म नाचघरमा नाटक मञ्चन भएपछि टोलीका अन्य सदस्यहरु दार्जिलिङ फर्किए भने म, गीतकार तथा साहित्यकार नर्दिन रुम्बा र उहाँको श्रीमती भने काठमाडौंमा नै बस्यौं। त्यसपछि प्रकाश सायमीको आधा पैसा, कलालगायतका नाटकमा अभिनय गरें। ५ वर्षसम्म मैले नाटकहरुमा अभिनय गरें। २०४३ सालमा प्रकाशले नै निर्देशन गरेको ब्रस इजर र क्यान्भास नामक नाटक मा एकल अभिनय गरें र अवार्ड पनि जितें’ –उनले सुनाए।

सफलताको कथा शुरु हुँदा–नहुँदै दीपक जागिरतिर लागे। ५ वर्षसम्म नाटकमा अभिनय गर्दैगर्दा उनी अन्नपूर्ण होटलमा फ्रन्ट अफिसका जागिरे भए। होटेलमा जागिर गर्दै गर्दा अभिनयतिर पनि उत्तिकै सक्रिए थिए। ‘नाटकमा अनुभव बटुलेपछि मेरो लक्ष्य हिरो बन्ने थियो। यसै क्रममा द रेड लामा नामक अंग्रेजी फिल्ममा क्यारेक्टर आर्टिस्टको रूपमा पहिलोपटक क्यामेरा फेस गरें। चीन र तिब्बतबीचको कथामा आधारित उक्त फिल्ममा नै मैले पहिलोपटक क्यामेरा फेस गरेको थिएँ’, उनले सम्झे– ‘रोल सानो थियो, तर पैसा राम्रो दिएका थिए।’

निर्देशक प्रताप सुब्बाको फिल्म दिदीमा हिरोको भूमिकामा खेलेका उनले चेतन कार्कीको विश्वासमा पनि काम गरे। प्रकाश सायमीकै फिल्म पृथ्वीबाट भने उनी सशक्त खलनायकका रूपमा उदाउन पुगे। सुनील थापा, पवन मैनाली, हेमन्त बुढाथोकी जस्ता एकसेएक खलनायकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने क्रममा दीपकले प्रकाश सायमीको हतियार र सीमाना, नारायण पुरीको आगो र शंकर राजकुमार राईको द कमान्डो, अशोक शर्माको नीरमायाका साथ माझी दाइ, झोला, बाटोमुनिको फूल, सेतो सूर्यलगायत दुई सयभन्दा बढी फिल्मबाट अभिनय यात्रा निरन्तररूपमा अगाडि बढाइरहे।

‘फिल्म दिदीमा हिरोको रोलमा खेलेपछि मलाई अर्को फिल्ममा पनि हिरोकै रोल गर्न मन लागेन। किनभने हिरोको सामाजिक भूमिका हुन्छ। समाजसँग डराउनुपर्ने र सोझो हुनुपर्ने रोल थियो। तर, म स्टेज आर्टिस्ट भएकाले पनि एकै किसिमको क्यारेक्टरमा सीमित हुन चाहिन। त्यसैले फिल्म पृथ्वीपछि सबै फिल्महरुमा खलनायककै भूमिका गर्न थालें’ –उनले भने।

नेपालमा टेलिभिजन भित्रिएपछि २०४२ सालबाट उनले टेलिफिल्महरुमा पनि अभिनय यात्रालाई अगाडि बढाए। लय संग्रौलाको टेलिफिल्म युगको शिकारबदेखि चेतना, देवी, थोरै भए पुगिसरी, जीवनचक्र, उद्घाटन, दशैंजस्ता चर्चित टेलिफिल्ममा सशक्त अभिनय गर्दै अगाडि बढे।

‘अहिले पनि अभिनय नै मेरो क्षेत्र हो। यो अस्वस्थताका बीच पनि अफर आए फिल्ममा काम गर्न तयार छु, दीपक भन्छन्– ‘झोलामा मैले यस्तै स्वास्थ्य स्थितिका बीच काम गरेको हुँ। सहयोगी मन र हातहरुको सहयोगबाट अब त उपचार पनि पाउने भएको छु। त्यसैले स्वास्थ्य ठीक भए सिंगो जीवन यही क्षेत्रमा समर्पित गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्