फ्रान्समा महिला मोडलविरुद्ध नयाँ कानुन



पेरिस, (एजेन्सी)
फ्रान्समा निकै अस्वस्थ नै दखिने गरी दुब्लाएका फेसन मोडलहरूमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन लागू गरिएको छ। अबदेखि मोडलिङमा सरिक हुन तिनीहरूले आफ्नो उचाइअनुसारको शरीरको पिण्ड सूची (बीएमआई) सहित डाक्टरले पूर्णरूपमा स्वस्थ छन् भनी प्रदान गरेको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले महिलाको आफ्नो सौन्दर्यका लागि खाना कटौती गर्ने बानी रोक्ने उद्देश्यले यो कानुन ल्याइएको जनाएको छ। अबदेखि ती मोडेलहरूले डिजिटल प्रविधिबाट तयार पारिएका तस्वीरहरूलाई पनि आगामी १ अक्टोवरदेखि दुरुस्त पार्नुपर्ने भएको छ।

यसअघिको विधेयकमा मोडेलहरूको न्यूनतम बीएमआई तोकिँदा फ्रान्सस्थित मोडेलिङ एजेन्सीहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए। तर, सन् २०१५ को विधायकहरूद्वारा पारित अन्तिम विधेयकअनुसार डाक्टरलाई मोडेलको उमेर, वजन र शरीरिको आकारअनुसार तिनीहरूको स्वस्थताको प्रमाणीकरण गर्ने अधिकार प्रदान गरिएको हो।

यो कानुन उल्लंघन गरेको पाइएमा मोडेललाई ८२ हजार अमेरिकी डलर जरिवाना र ६ महिना लामो कारबास सजाय हुन सक्छ। फ्रान्सको सामाजिक मामिला तथा स्वास्थ मन्त्री मरिसोल टुरेनले शुक्रवार फ्रेन्च सञ्चारमाध्यम समक्ष एक विज्ञप्ति जारी गर्दै नवयुवतीहरूमा केवल सौन्दर्यता कायम राख्न खाना नखाई शरीरलाई जोखिममा राख्नु राष्ट्रकै लागि घातक शिद्ध हुने बताएका थिए।
कम शारीरिक वजनका मोडेललाई प्रतिबन्ध लगाउने फ्रान्स विश्वकै पहिलो राष्ट्र भने होइन। यसअघि नै इटाली, स्पेन र इजरायलले यो कानुन लागू गरिसकेको छ। फ्रान्समा रहेका ३० देखि ४० हजार महिला मोडलमध्ये ९० प्रतिशत यस कानुनबाट प्रभावित हुन पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्