सक्रिय पत्रकारिता छोडेर राजनीतिमा



विमल विष्ट, डोटी
डोटीमा आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको निर्वाचनका लागि सक्रिय पत्रकारिता छोडेर पत्रकारहरू राजनीतिमा होमिने भएका छन्। विगत ७ वर्षदेखि पत्रकारितामा सक्रिय रहेर नाम कमाएका डोटीका पत्रकार लोकेश शिरीष अधिकारीले शिखरनगरपालिका को वडा–५ को वडाअध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने भएका छन्। वीस वर्षपछि हुन लागेको स्थानीय चुनावमा यतिखेर डोटीका नागरिकसँगै युवा जमात पनि सक्रिय रूपमा खुलेरै राजनीतिमा लाग्न थालेका छन्। डोटीमा विभिन्न पेसामा आफ्नो छवि बनाई सकेर पनि उम्मेदवारी दिनेहरू बढ्न थालेका छन्। पछिल्लो समय राजनीति क्षेत्रमा डोटीका दर्जनौं पत्रकार सक्रिय भए पनि पार्टीको टिकट भने पहिलोपटक अधिकारीले लिनुभएको हो।

शैलेश्वरी एफएक तथा त्रिवेणी एफएमलगायतका विभिन्न सञ्चारमाध्यममा निकै लामो समयसम्म काम गरेर पत्रकारिताको अनुभव लिएका उहाँले यसपटक माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्। पत्रकारितामा नाम कमाएको मान्छे एक्कासि राजनीतिमा लागेपछि यति बेला यस क्षेत्रमा उहाँको चर्चा निकै नै चलेको छ। शिखर नगरपालिका–५ मा स्थायी घर भए पनि उहाँ लामो समयदेखि सदरमुकाम सिलगढीमै बसेर सक्रियरूपमा पत्रकारिता गरिरहेका थिए। अबको नेतृत्व युवा पुस्तामा जानुपर्छ भन्ने मान्यता बोकेर आफू राजनीतिमा छिरेको पत्रकार अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘देश र जनतालाई सजग गराउन पहिला पत्रकारिता क्षेत्रको बाटो अपनाएँ अब, बाँकी रहेको काम सुधार्न र विकास गर्न राजनीतिको बाटो रोजेको छु, हामी जुन बाटो गए पनि देशको विकास र जनता सजग गराउने नै हो।’

त्यस नगरपालिकाका युवा पुस्ताले उहाँको उम्मेदवारीलाई निकै चासोको रूपमा लिएको शिखर नगरपालिकाका स्थानीय दिलबहादुर महराले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिलेको राजनीति क्रेज भनेको युवा पुस्तामा बढी देखिएको छ र जनता पनि युवाकै पक्षमा भएकाले, युवाले आफ्नो पकड बनाउन सक्छन्।’ राजनीतिमा लागे पनि आफ्नो रुचिको पेसा पत्रकारितालाई चटक्कै नछोड्ने पत्रकार अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘म गाउँ र जनताको विकासका लागि हिँडेको छु तर मेरो इच्छा, चाहना र मन पत्रकारितामै भएकाले यो पेसा कहिल्यै पनि छोड्ने छैन्।’

प्रतिक्रिया दिनुहोस्