दोलखामा प्रमुखमा तीन महिला उम्मेदवार



चिरञ्जीवी मास्के, दोलखा
दोलखामा २ नगरपालिका, ७ गँउँपालिका र ७४ वटा वडामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र खुला सदस्य गरी २ सय ४० पदका लागि जम्मा १३ जना महिलाको मात्र उम्मेदवारी परेको छ।

दोलखाको २ नगरपालिका र १ गाउँपालिकामा राप्रपाले महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ। राप्रपाले दोलखाको भीमेश्वर नगरपालिकामा देवकी बुढाथोकी, जिरी नगरपालिकामा कमला कार्की र शैलुङ गाउँपालिकामा कान्छीमाया मोक्तानलाई उम्मेदवार बनाएको छ।


दोलखामा नेकपा एमालेले सबै नगरपालिका र गाउँपालिकामा महिलालाई उपप्रमुख मात्र बनाएको छ। एमालेले भीमेश्वर नगरपालिकामा कमला बस्नेत, जिरी नगरपालिकामा कृष्णकुमारी बुढाथोकीलाई उपप्रमुख बनाएको छ भने शैलुङ गाउँपालिकामा लालमाया योञ्जन, कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, विगु गाउँपालिकामा उर्मिला केसी, गौरीशङ्कर गाउँपालिकामा उर्मिला थामी, बैतेश्वर गाउँपालिकामा शान्तिकुमारी तमाङ, तामाकोसी गाउँपालिकामा उर्मिला खड्का केसी र मेलुङ गाउँपालिकामा कल्पना भण्डारीलाई उपप्रमुखे बनाएको छ।

माओवादी केन्द्रले दुई नगरपालिकामा महिलालाई उपप्रमुखको उम्मेदवार बनाएको छ। माओवादी केन्द्रको तर्फबाट भीमेश्वर नगरपालिकामा कमला कार्की र जिरी नगरपालिकामा चित्रमाया दहाललाई उपप्रमुखको उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसले जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा महिलालाई उपप्रमुखको उम्मेदवार बनाएको छ। कांग्रेसले जिरी नगरपालिकामा लीलादेवी जिरेल र शैलुङ गाउँपालिकामा उर्मिला कार्कीलाई उपप्रमुख बनाएको छ। माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएकाले दुवै पार्टीले प्रमुख, उपप्रमुखमध्ये एउटा मात्र पदमा उम्मेदवारी दिँदा पुरुषलाई बढी प्राथमिकता दिएको देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय दोलखाले दिएको तथ्यांकअनुसार दोलखाको २ नगरपालिकामा महिला प्रमुख २ जना र उपप्रमुख ५ जना तथा ७ गाउँपालिकामा महिला प्रमुख १ जना र उपप्रमुख ८ जना उम्मेदवार रहेका छन्। जिल्लामा रहेको ७४ वडामा महिला वडा प्रमुख तथा खुला सदस्य २ जनामा महिला सदस्य भने कुनै पनि दलले बनाएको छैन। संविधानले व्यवस्था गरेको महिला सदस्य र दलित महिला सदस्यमा बाध्यात्मक रूपमा राख्नैपर्ने अवस्थाबाहेक दलहरूको नजरमा महिला प्राथमिकतामा परेको नदेखिएको महिला अधिकारकर्मी सिर्जना कार्की बताउँछिन्।

दोलखामा ३ सय ८८ पदका लागि १ हजार २ सय ४३ जनाको मनोनयन दर्ता भएको र त्यसमा ४ सय ३९ महिला रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्