हरिबहादुरसँगै हरिबहादुर



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले लोकप्रिय हास्यव्यंग्य टेलिसिरियल मदनबहादुर हरिबहादुरमा आफूले निर्वाह गरेको हरिबहादुर चरित्रलाई पुस्तकको रूप दिई सार्वजनिक गरेका छन्। पुस्तक प्रकाशक फाइन प्रिन्टद्वारा शनिबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा एक समारोह आयोजना गरी हरिवंशद्वारा लिखित दोस्रो कृति हरिबहदुर सार्वजनिक गरेको हो।


लामो समयपछि प्रतिष्ठानको डबलीलाई भरिभराउ रूप दिँदै आयोजित समारोहमा हरिवंश हरिबहादुरकै रूपमा प्रस्तुत भएका थिए। उनी आफ्नो जीवनीमा आधारित पहिलो कृति चिना हराएको मान्छेको अपार सफलतापछि दोस्रोपटक काल्पनिकरूपमा लेखिएको हरिबहादुरको सार्वजनिकीकरण समारोहमा सो पुस्तकको हकरका रूपमा प्रस्तुत भएका थिए। शुरुमा हकरका रूपमा प्रस्तुत भएका हरिवंशले करिब २० मिनेटको प्रस्तुतिका क्रममा देशमा भइरहेका विसंगति र विकृतिविरुद्ध चोटिलो व्यंग्य पनि प्रस्तुत गरे। उनले समाजको खलनायकको प्रतिनिधित्व गर्दै राजनैतिक र सामाजिक विकृतिसँगै प्रहरी प्रमुख नियुक्ति र सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगसम्मलाई विषय बनाई चोटिलो र तीखो व्यंग्य गरेर डबलीमा खचाखच भरिएका दर्शकलाई हँसाए पनि। उनलाई पत्रकार ऋषि धमालाका रूपमा एक पात्रले पनि सघाएका थिए। जसको प्रश्नको जवाफ दिँदै हरिवंशले लगातार व्यंग्यमाथि व्यंग्य गरेका थिए।


सञ्चारकर्मी रवि लामिछानेद्वारा सञ्चालित विमोचन समारोहमा हरिवंशका जोडी अर्का हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले उनको नवीनतम कृतिको विमोचन गरेका थिए। समारोहमा बोल्दै हास्यव्यंग्य अभिनेता श्रेष्ठले हरिवंशको पाठकलाई मन पराउने पाठकका लागि यो अर्को सुनौलो मौका भएको चर्चा गर्दै आफू पनि दशैंताका पुस्तक ल्याउने तयारीमा रहेको र घरायशी समस्याका कारण ढिलाई भइरहेको खुलाए। उनले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर पार्टीहरुले प्रजातान्त्रिक अभ्यास गरेको भन्दै व्यंग्यसमेत गरे। ‘पार्टीहरुले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाए, हामीले पनि त्यहीरूपमा लिउँ। यसलाई डेमोक्रेटिक प्रयाक्टिस भनेका छन्’, उनको व्यंग्य थियो– ‘आगामी दिनमा आगोले पोल्छ कि पोल्दैन भनेर डेमोक्रेटिक प्रयाक्टिस हुन सक्छ।’

त्यसै गरी हरिवंशले हरिबहादुरको लेखनबारे खुलाउँदै कतिपय विषय आत्मकथामा लेख्दा लाज लाग्ने भएकाले हरिबहादुरमा मिसाएको बताए। ‘आत्मकथामा लेख्दा लाज लाग्ने विषयलाई यसमा उल्लेख गर्दा काल्पनिक भन्न पाइन्छ’, हरिवंश भन्दै थिए– ‘त्यसैले केही विषय आफ्नै जीवनको पनि उल्लेख गरेको छु।’ सो अवसरमा पुस्तकको आवरण बनाउने कलाकार कविराज लामाले हरिवंशलाई सो आवरणको तस्वीर उपहार प्रदान गरेका थिए भने साहित्यकार बुद्धिसागरले हरिवंशका साथ उनको कृति हरिबहादुरका सम्बन्धमा अन्तरक्रियासमेत गरेका थिए। पुस्तक शनिबारबाटै बजारमा आएको छ। पुस्तकको सम्पादन डा. रवीन्द्र समीरले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्