चामल बिक्री नहुँदा कर्मचारी चिन्तामा



ललित सिंह, बझाङ
खाद्य संस्थाले बिक्री गदै आएको चामल बिक्री नहुने भएको छ। चामल बिक्री नहुँदा संस्थानका कर्मचारी चिन्तामा परेका छन्।

बझाङी जनताको खाद्य आपूर्तिका लागि स्थापना गरिएको खाद्य संस्थानमा बजारको भन्दा १ रुपियाँ ५० पैसा महँगो चामल र अपायक ठाउँमा संस्थानको कार्यालय भएकाले चामल बिक्री हुन छोडेको हो। चामल बिक्री नहुँदा बर्खायाममा सड्ने डरले कर्मचारी चिन्तामा परेका हुन्। खाद्य संस्थानमा चामल बजारको भन्दा १ रुपियाँ ५० पैसा बढी महँगो हुनुका साथै सदरमुकाम चैनुपरबाट आउन–जान १ घन्टा पैदल दूरी रहेकाले संस्थानको भन्दा बजारकै व्यापारीको चामल खाने गरेको जयपृथ्वी नगरपालिका–१ का दिलबहादुर विकले बताए।

उनले भने– ‘वर्षको दुई महिना खेतबाट उब्जनी हुने र १० महिना खाद्यान्न किनेर खाने हामी दलित परिवारले बजारका व्यापारीबाट मोटो चामलको ३३ रुपियाँ प्रति केजीमा लिने गरेको छु। संस्थामा गए मोटो चामलको प्रति केजी ३४ रुपियाँ ५० पैसा लिने गरेका छन्। सयम र पैसा दुवै बच्ने भएपछि संस्थानमा कोही जाँदैनन्।’

‘घरमा ७ जनाको परिवार छ। तीन महिना खान पुग्दैन, सधैं किनेर खाने गरेको छु –घरआँगनमै भएको खाद्य संस्थानको कार्यालयमा चामल बजारको भन्दा महँगो भएपछि आधा घण्टा टाढाको सिमखेत बजारमा चामल लिने गरेको तरुण जोशीले बताए। उनले भने– ‘गरिबलाई दुई पैसा बच्ला भन्ने लोभ लाग्छ, संस्थानको चामल महँगो भएकाले किनेर खान सकिँदैन, चामल राम्रो भएर के गर्नु।’

‘गाउँमा खाद्य संस्थानमा राम्रो र सस्तो चामल पाइन्छ भन्ने सुनेको थिएँ। ४ घण्टा पैदल बाटो हिँडेर चामल लिन संस्थानमा पुगें र ५० केजी चामल लिएर पैसा बुझाउँदा बजारको भन्दा बढी महँगो भएपछि चामल नलिएर रित्तो हात संस्थानबाट फिर्ता भएँ अनि बजारको चामल लिएर घर गएँ’ –जयपृथ्वी नगरपालिका–१ कैलाशका सानु खड्काले बताए। उनले भने– ‘सरकारले गरिबका लागि बजारको भन्दा सस्तो चामल दिनुपर्नेमा झन् महँगोमा बिक्री गरेको छ, यो जनतामाथिको शोषण हो।’

सधैं भोकमरीको मारमा पर्ने बझाङी जनता पहिलेपहिले खाद्यान्न लिन एकाबिहानैदेखि दैनिक निकै भीड लाग्ने हुन्थ्यो, कहिलै संस्थानले चामल पुर्याउन सकेको थिएन, अहिले दैनिक कार्यालय खोलेर चामल लिन कोही न काही आउँछन् कि भनेर बाटो हेरेर बस्ने गरेको छु –संस्थानमा चामल लिन कोही नआएपछि दैनिक निरास भएर बस्नुपरेको खाद्य संस्थान प्रमुख ईश्वरीदत्त पाण्डेले बताए।

उनले भने– ‘गएको असारदेखि अहिलेसम्म १ सय ९ क्विन्टल २० केजी मात्र चामल बिक्री भएको छ।’ कारगारका कैदीबन्दीलाई सरकारी ठेक्का भएकाले १ सय २ केजी गएको हो। चामल लिन कोही आउँदैनन्। संस्थान वरपरका पनि महँगो भनेर बजारबाट ल्याउने गरेका छन्। ‘गोदाममा ५ सय २३ क्विन्टल ४ केजी मौज्दात छ, वर्षाको समयमा चामल सड्ने हो कि भनेर डर लागिरहेको छ, केन्द्रीय कार्यालयमा बजारको भन्दा मूल्य घाउनुपर्छ भन्दा सुनेको छैन। एक त मूल्य बढी छ दोस्रो बजारभन्दा टाढा र अपायक ठाउँमा संस्थानको कार्यालय रहेको छ’ –उनको भनाइ थियो।

जिल्लामा आव ०७३⁄०७४ का लागि चामलको कोटा खाद्य संस्थानको शाखा कार्यालय देवलका लागि १ हजार तल्कोट डिपोको १ हजार र बिसौना डिपोको १ हजार ५ सय हो। बिसौनामा सबै चामल दुर्गम भएकाले बिक्री भएको छ। तल्कोटमा पनि २ सय क्विन्टल मात्र बिक्री भएको संस्थानले जनाएको छ। नेपाल सरकारले ३६ सालमा बझाङबासीलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले निर्माण गरेको साविक रिठापाटा गाविस हाल जनपा–८ देववलको खाद्य गोदाम जीर्ण बन्दै गएको तथा चामल सड्ने डर निकै भएकाले गोदाम सदरमुकाम चैनपुरमा राखिनुपर्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्