मधेसवादी दलमा भाँडभैलो संघीय गठबन्धनबाट उपेन्द्र निष्कासित, ठाकुर नयाँ नेता



बीपी साह, काठमाडौं
मधेसको माग पूरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहभागी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरी निष्कासन गरेको छ। तर मोर्चाले औपचारिकरूपमा निर्णय सार्वजनिक गरेको छैन भने यादवले आफू मोर्चामा रहेको दाबी गर्दै आउनुभएको छ।

यादव २९ दलीय संघीय गठबन्धनबाट पनि निष्कासित हुनुभएको छ। संघीय गठबन्धनको निर्णय विपरीत निर्वाचनमा सहभागी भएको भन्दै गठबन्धनले कारबाही गरी यादवलाई निष्कासन गरेको हो। गठबन्धनका संयोजकसमेत रहेका यादवलाई संयोजक पदबाट हटाइएको छ।

राष्ट्रिय जनता पार्टी, नेपालको बिजुलीबजारस्थित पार्टी कार्यालयमा शनिबार बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही गरेको हो। बैठकमा गठबन्धनमा आबद्ध अधिकांश दलका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ। तर, केही दलका नेताहरू उपस्थित नभए पनि टेलिफोनमार्फत सहमति जनाएका थिए।

उक्त बैठकले गठबन्धनको नयाँ संयोजकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ। संयोजक ठाकुरद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘संघीय गठबन्धनको निर्णय, मूल्य मान्यता, सिद्धान्त विपरीत संघीय गठबन्धनका तत्कालीन संयोजक उपेन्द्र यादवज्यूले मधेसी–थारु, आदिवासी जनजाति, सिल्पी (दलित), मुस्लिम, उत्पीडितलगायतका समुदायको मुद्दाहरू बिसर्जन गर्दै आत्मसमर्पणको कित्तामा गई, संविधान संशोधनबिना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा गएको हुँदा संघीय गठबन्धनबाट संयोजकसमेतको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ।’

यता फोरम नेपालका नेताहरूले गठबन्धनबाट निष्कासित गरिनुले खासै असर नपर्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले नयाँ शक्ति पार्टी नेपालसँग एकीकरण भइरहेकाले साना दलहरूको गठबन्धनबाट हटाइएको भन्ने कुराको औचित्य नरहेको बताए। मधेसी मोर्चासहितको गठबन्धनले संविधान संशोधनसहितका मागहरू सम्बोधन नभए आन्दोलनको चेतावनीसमेत दिएको छ। गठबन्धनका नेताहरूले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै आन्दोलनका कार्यक्रमको खाका केही दिनभित्रै सार्वजनिक हुने बताए।

प्रतिक्रिया दिनुहोस्