चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय



महोत्तरी, (नेस)
जिल्ला निर्वाचन कार्यालय, महोत्तरी जेठ ३१ हुने दोस्रो चरणको चुनावको तयारीमा जुटेको छ। महोत्तरीमा भरखरै मात्र आइपुगेको मतपत्र तथा निर्वाचनमा प्रयोग हुने अन्य सामान तथा दस्तावेजहरू केन्द्रअनुसार मिलाउन निर्वाचन कार्यालय व्यस्त भएको हो।

जिल्ला निर्वाचन कार्यालयले सामाजिक परिचालक, सामुदायिक स्वास्थ्य स्वयंसेविका र प्राथमिक विद्यालयका पहिलो चरणमा शिक्षिकाहरूलाई मतदाता शिक्षा कार्यक्रममा सघाउन तालिमसमेत तदारुकताका साथ सञ्चालन गरेको छ भने तालिम प्राप्त सामाजिक स्वयम्सेवकहरूले प्रत्येक मतदाताहरूलाई मत कसरी गर्ने भन्ने सिकाउनेछन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचनसम्बन्धी सामग्रीहरू केन्द्रबाट आइसकेकाले आफूहरू तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीका निर्वाचन अधिकृत पिंकी रायले बताइन्। जेठ ३१ को चुनावका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीका कर्मचारीहरू निर्वाचनसम्बन्धी निर्देशिका, नमुना मतपत्र, उम्मेदवार मनोनयनको फाराम, बुकलेटलगायतका सामग्रीहरू मिलाइरहेको रायले थपिन्।

प्रतिक्रिया दिनुहोस्