निर्वाचन सम्पन्न गर्ने सरोकारवालाको प्रतिबद्धता



नेपाल समाचारपत्र
धनकुटा
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा क्रियाशील राजनीतिक दल तथा सरोकारवालाले प्रतिबद्ध रहेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय धनकुटाले संयोजन गरेको सर्वपक्षीय भेलामा सहभागी सरोकारवालाले निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्दै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन्। प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भेलाले निर्वाचन आचारसंहिताको सबैले पूर्ण पालना गर्ने, निर्वाचन आचारसंहिता विपरीत विभिन्न स्थानमा भएका भित्तेलेखनलाई सम्बन्धित दलले मेट्ने, स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १७ वटा पार्टीका प्रमुखहरू सदस्य रहेको सर्वदलीय निर्वाचन सञ्चालन सहयोग समिति गठन गर्ने निर्णय भएको छ।

भेलाले राजनीतिक दलहरूले कुनै पनि चुनावी विशेष कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर प्रशासनको स्वीकृतिमा मात्र गर्ने, निर्वाचनको समयमा बजारमा कुनै पनि खालका दैनिक उपभोग्य वस्तुहरू अभाव हुन नदिनका लागि उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने र निर्वाचन शिक्षा सम्बन्धी कार्यक्रमहरू स्थानीय सञ्चारमाध्यममा प्रसारण गर्नेलगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो। बैठकमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो। दोस्रो चरणको निर्वाचनअन्तर्गत धनकुटामा २०७४ जेठ ३१ गते स्थानीय तहको निर्वाचन हँुदै छ।

प्रतिक्रिया दिनुहोस्