चुनाव सरेपछि अन्यौलमा म्यादी प्रहरी



विमल विष्ट, डोटी

सरकारले स्थानीय निकायको निर्वाचनको शुरक्षाका लागि नियुक्त गरेका डोटीका म्यादी प्रहरीहरु निर्वाचन सरेपछि अन्योलमा परेका छन्।सरकारले ७ नम्बर प्रदेशमा वैशाख ३१ गते हुने भनिएको निर्वाचन जेठ ३१ गते सारेपछि र एक महिना अर्थात् जेठ २ गतेसम्मका लागि भर्ना भएका म्यादी प्रहरीहरुका बारेमा सरकारले केही खबर नपठाएपछि उनीहरु झन् अन्योलमा परेका हुन्।

सरकारले डोटीमा भर्ना भएका म्यादी प्रहरीलाई कहाँ खटाउने र कहिले खटाउने भन्ने विषयमा आधिकारिक खबर नपठाउँदा आफूहरु बिहान बेलुकी पिटिपरेड तथा साँझ सुदूरपश्चिमेली चर्चित देउडा खेल खेलेर बस्न बाध्य भएको म्यादी प्रहरी जमानसिंह विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो ‘हामीलाई कहाँँ र कहिले खटाउने भन्ने खबर आएको छैन। प्रहरी चौकीमा राखिएको छ, बिहान बेलुकी पिटिपरेड भन्छन् साँझ देउडा खेलेर दिन काट्न थालेका छौं।’
त्यस्त,ै म्यादी प्रहरीलाई सरकारले लगाउने पोशाकसमेत अहिलेसम्म उपलब्ध गराउन नसक्दा उनीहरुमा निरासासमेत छाएको बताइएको छ।

म्यादी प्रहरीहरु भन्छन् ‘हामीले घरबाट ल्याएका लुगा सबै फोहरमैला तथा फाटिसके सरकारले अहिलेसम्म लुगा दिएको छैन हामीले कहिले लुगा पाउछौ ? ’ गाउँमा खेतीपातीको सिजन पनि शुरु भएकाले कतिपय म्यादी प्रहरीहरु खेतीपाती गर्न घर जान पाउनुपर्ने माग गरिरहेको बताइएको छ।

डोटीमा भर्ना गरिएका ५ सय जना म्यादी प्रहरीहरु सरकारले एक महिनापछाडि चुनाव सारेकाले आफ्नो पनि सेवा सुविधा एक महिना थप हुनुपर्ने माग पनि गरिरहेका छन्। उता जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले म्यादी प्रहरीलाई केही दिन भित्रमै लुगा (पोशाक) आउने र एक महिना म्याद थपिने आफूले खबर पाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्