मतदाता मनाउँदै उम्मेदवार घर दैलोमा



मोतीराम तिमल्सिना, काभ्रे

उम्मेदवारी दर्ता गरे लगत्तै उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा प्रभावित पार्ने विभिन्न योजनाका साथ मतदाताको घरदैलोमा पुगेका छन्। विशेष गरी प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले घर दैलो अभियान तीव्र बनाएका छन्।

नेता तथा कार्यकर्ताहरु बिहान सबेरैदेखि साझ अबेरसम्म मतदातालाई आफ्नो पक्षमा ल्याउन प्रचारप्रसार गरिरहेका छन्।
उम्मेदवारहरुले आफू अनुकूल स्थानीय तहअनुसारको मतदाताको घरदैलोमा पुगेर प्रभावित बनाउन थालेका छन्। केही साना दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि मतदातालाई आफ्नो पक्षमा मतदान गर्न मनाउँदै छन्।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीहरु तालिम दिएर आगामी सोमबारदेखि मतदान केन्द्रमा खटिने छन्। मंगलबार उम्मेदवारी दर्ता भएका मध्ये मण्डनदेउपुर नगरपालिकामा एमालेको तर्फबाट उम्मेदवारी दिएकी नारायणी दमाईं सदस्य पदमा निर्विरोध भएकी छन्।

काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटै स्थानीय तहमा प्रमुख तीन दलले सबै पदहरुमा उम्मेदवारी दर्ता गरेको भए पनि केही वडाहरुमा दलित समुदायका ब्यक्तिहरु नभएकाले उम्मेदवारी दर्ता हुन सकेन।

दलहरुले बाजागाजासहित उम्मेदवारी मनोनयनमा कार्यकर्ताहरु निर्वाचन कार्यालयमा पुगेका थिए। विकट क्षेत्र डाँडापारि, कोशीपारि, तेमाल, रोशी, शहरी क्षेत्रका सबै गाउँपालिका तथा नगरपालिकामा शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयनको काम सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्यालका अनुसार केही प्रकृया बुझ्न उम्मेदवारहरुलाई कठिन भएकाले प्रकृयामा ढिलाइ भएको र केही स्थानीय तहहरुमा साँझसम्म पनि उम्मेदवारी दर्ताको काम भइरहेको थियो।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नयाँ शक्ति, नेमकिपा, नेकपा माले, नेकपा माओवादी वैद्य समूहलगायत दलका उम्मेदवारहरुले दलीय आधारमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् भने केही स्वतन्त्र र केही दलका उम्मेदवारहरुले वडा अध्यक्ष र सदस्यमा बागी उम्मेदवारी पनि स्वतन्त्र उम्मेदवारका रूपमा दर्ता गराएका छन्।

जिल्लामा नेकपा माओवादी केन्द्र र मधेसी लोकतान्त्रिक फोरमले रोशी गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा समिकरण गर्ने भएका छन्। प्रमुखमा माओवादी केन्द्रका नेता मिमबहादुर तामाङ र उपप्रमुखमा फोरम लोकतान्त्रिकका प्रकाश थापालाई उम्मेदवार बनाइ प्रमुखमा फोरमले र उपप्रमुखमा माओवादीले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमालेको प्रदेश कमिटीले निर्णय गरी पठाएका दुई उम्मेदवार परिवर्तन भएका छन्। धुलिखेलमा उपप्रमुख जमुना तामाङको सट्टामा विमला शर्मा र चौरी देउरालीमा उपाध्यक्ष यशु लामाको स्थानमा इन्द्रमाया तामाङको उम्मेदवारी दर्ता भएको छ। जिल्ला कमिटीले निर्णय गरेको केही वडाअध्यक्षहरुमा समेत परिवर्तन भएको एमालेले जनाएको छ।

चौरी देउराली गाउँपालिकामा नेकपा माओवादी वैद्य समूहको तर्फबाट प्रेमबहादुर लामाले उम्मेदवारी दिएका छन् भने साविक माँदनकुँडारी गाविस हालको वडा नम्बर ७ मा वैद्य समूहले सबै पदमा उम्मेदवारी दिएको छ।

धुलिखेलमा बेनगोपाल खोंजुले बागि उम्मेदवारी दिएका छन्। वडाअध्यक्ष पदमा खोंजुले बागि दिएका हुन्। उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म प्रमुख दल र साना दलका पनि कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्