खोटाङमा ५ हजार बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिर



रामधन राई, खोटाङ । खोटाङमा बिद्यालय उमेर समुहका करिब ५ हजार बालबालिका बिद्यालय बाहिरै रहेका छन् । शिक्षा बिभागले हालै प्रकाशन गरेको तथ्याङक अनुसार जिल्लाका ४ हजार ८ सय १० बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै देखिएका हुन् ।

२ नगरपालिका र ८ गाउँपालिका कायम भएको जिल्लामा सञ्चालित नीजि बिद्यालय बाहेक ४ सय ९० सामुदायिक बिद्यालयमा करिब ५७ हजार बिद्यार्थी मात्र भर्ना भएको उल्लेख छ । यद्यपी, तथ्याङकमा ठुलो मात्राका बालबालिका बिद्याालय बाहिर देखिए पनि त्यति धेरै बालबालिका बिद्यालय बाहिर नभएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत ठाकुरप्रसाद दाहालको भनाई छ ।

शाखा अधिकृत दाहालका अनुसार जिल्लामा सञ्चालित अधिकांश निजी बिद्यालयहरुले बिद्यार्थी संख्या उल्लेखित तथ्याङक पेश नगर्नाले यति धेरै संख्याका बालबालिका बिद्यालय बाहिर देखिएका हुन् । जिल्लामा हाल २९ वटा निजी बिद्यालय सञ्चालनमा रहेका छन् ।

जसमध्ये ५–६ वटाले बाहेक बिद्यार्थी संख्याको तथ्याङक उपलब्ध गराएको छैन । जिल्ला शिक्षा कार्यालयका अनुसार उपलब्ध निजी बिद्यालयका बिद्यार्थीलाई पनि भर्ना भएको संख्या ५७ हजारमा जोडिएको छैन ।

बिद्यालय उमेरका बालबालिकालाई बिद्यालय भर्ना अभियान
ठुलो संख्यामा बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिरै रहेको पाईएपछि जिल्ला शिक्षा कार्यक्रमले बिशेष किसिमको बिद्यालय भर्ना अभियान सञ्चालन गरेको छ ।

नयाँ बर्षको शुरुवातसँगै शिक्षाले बिद्यालय भर्ना तथा बिद्यालयमा टिकाईराख्न अभिभाबक शिक्षा अभियान जिल्लाभरका शैक्षिक संस्थाहरुमा जारी गरेको हो ।

बिद्यालय उमेरका सत प्रतिशत बालबालिकालाई बिद्यालयमा ‘झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ नीति अनुरुप अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्