जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता



काठमाडौँ, २२ वैशाख । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमध्ये नगर प्रमुख÷गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ र नगर उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै वडा अध्यक्ष पदमा १० हजार ८४१, वडा सदस्य (खुला) मा १८ हजार ३७१, महिला सदस्य पदमा नौ हजार ३३ र दलित महिला सदस्य पदमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस निर्वाचनमा उक्त तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दता भएको हो ।

त्यस्तै निर्वाचनमा महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार ३६५ गरी जम्मा दुई हजार ५९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको थियो ।

साथै कुल दुई हजार ५९८ वडाका लागि चार सदस्यका दरले जम्मा १० हजार ३९२ वडा सदस्य पदका लागि मनोनयन भएको हो ।

प्रदेश नम्बर– ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् भने निर्वाचन प्रयोजनका लागि छ हजार ६४२ मतदान केन्द्रमा मतदान हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्