काइता काइताको गठबन्धन



एमाले राप्रपाबीच चुनावी गठबन्धन भएपछि एमालेलाई कुरी कुरी गर्नेहरू फेरि आफूहरू मिलेर आफैंलाई कुरी कुरी गरी रहेको देखेर धरहरा जिल्लाराम परेको छ। हिन्दु अतिस्त्व कायम हुनुपर्छ भन्ने राप्रपा ठीक कि युद्धको नाममा मुला काटेझैं गरेर १७ मान्छे काट्ने माओवादी ठीक यसको उत्तर जनताले दिनै पर्छ भन्दै दुई युवा धरहराको फेदैमा बसेर गरेको गफ धरहरालाई चाख लाग्यो।

राजनीतिमा जे पनि हुन्छ भन्ने उदारण अहिले एमाले राप्रपाको गठबन्धन र माओवादी कांग्रेसको गठबन्धनले देखाएको छ। हिजो टाउकाको मूल्य तोक्ने कांग्रेस र कांग्रेसका नेता तथा कार्यकर्तालाई मुला काटेझैं काट्ने माओवादीको गठबन्धनलाई जायज भन्ने दुवै पार्टीको तर्कलाई धरहराले मजाकको रूपमा हेरिरहेको छ। हैन सत्ता र पैसाका लागि नेताले जे पनि गर्छन् भन्ने यो भिन्न–भिन्न खाले गठबन्धनले देखाइदिएको छ। हैन एमाले जनतामा लोकप्रिय छ भने किन कमजोर भएको महसुस गरेर राजावादीसँग गठबन्धन गर्नु यो धरहराले बुझ्न सकेको छैन है पाठक वृन्द ?

त्यतिमात्र होइन पुत्रीमोहले विह्वल भएका प्रधानमन्त्री प्रचण्ड भने दुई तीन थान कार्यकर्तालाई बलीमा चढाएर छोरीलाई जिताउने अभियानमा लाग्नुलाई के भन्ने खै। यो पनि धरहराले बुझेन कसैले बुझ्नुभएको छ भने यसो धरहरालाई पनि सुझाव दिनूस् है।

प्रतिक्रिया दिनुहोस्