एमाले आक्रोशित



नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जेठ ३१ मा तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन बजेटअघि नै गर्नुपर्ने विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। बजेट तथा नीति कार्यक्रममार्फत मतदाता र निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै सो पार्टीले बिहीबार आयोगको ध्यानाकर्षण गराएको हो।

संसदीय दलका उपनेता सुवास नेम्वाङको टोलीले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटेर बजेट प्रस्तुत गर्नुअघि नै दोस्रो चरणको निर्वाचन गराउनुपर्नेमा जोड दिएका थिए।

सरकारले प्रस्तुत गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट, एक महिनाको अन्तराल र मुस्लिम समुदायको रमजानसमेतका दृष्टिकोणबाट जेठ ३१ मा निर्वाचन गराउनु उपयुक्त नभएको सो पार्टीको ध्यानाकर्षणपत्रमा भनिएको छ।

एमालेले औचित्यबिना एक महिनाको अन्तरालमा दुई चरणको निर्वाचन गर्ने घोषणाले अन्योल, अनिश्चित र द्वविधा उत्पन्न गरेको आरोप लगाएको छ।
ध्यानाकर्षणपत्रमा भनिएको छ– ‘यति गम्भीर निर्णय गरिँदा निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श गर्नु पनि आवश्यक नठानेकामा हामी आश्चर्यचकित भएका छौं।’

पहिलो चरणको निर्वाचन समाप्त भएपछि अर्काे चरणको निर्वाचन प्रारम्भ हुनु अगावै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता, मान्यता एवम् निष्पक्षतामा आघातसमेत पुर्याउने निश्चित भएको जनाउँदै उक्त पार्टीले दुवै चरणको निर्वाचनको बीचमा मतगणना गर्ने लगायतका कुनै पनि कार्य हुन नसक्ने, हुन नहुने कुरामा जोड दिएको छ।

संविधानले जेठ १५ मा बजेट ल्याउनुपर्ने सुनिश्चित र प्रष्ट नवीनतमा व्यवस्था अभ्यासमासमेत आइसकेको जनाउँदै नेकपा एमालेले बजेटको प्रस्तुतीलाई टार्न र बजेटको माध्यमबाट मतदातालाई प्रभावित गरेर निर्वाचनमा आँच पुर्याउने कार्य गर्न नमिल्ने हुँदा त्यस अगावै निर्वाचनको व्यवस्था गर्न सुझाव दिएको छ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एमालेले उठाएको विषय राजनीतिक निर्णयसँग सम्बन्धित भएकाले यस विषयमा सरकारसँग आवश्यक छलफल गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्