ऊर्जा मिश्रणको आवश्यकता



इ. रामराज शर्मा

राजधानीलगायत धेरैजसो मुख्य शहरहरुमा लोडसेडिङ मुक्त भयो, उज्यालो छायो सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने बाचा फेरि पनि दोहोर्यायो। केही नीतिगत सुधारहरु जस्तै– ऊर्जा खरिद दर हिँउद र वर्षाको लागि १०० मेगावाटसम्मका रन अफ द रिभर आयोजानको लागि रु. ४.८ र रु ८.४ कायम गरियो, जलाशययुक्त आयोजना र पिकिङ रन अफ द रिभर आयोजनाको लागि नयाँ ऊर्जा खरिद दर कायम भयो। टेक एन्ड पेबाट टेक और पे राखियो, रेमिट हाइड्रो र जनताको जलविद्युत् जनताकै लगानी भन्ने कार्यक्रममार्फत आशाका किरणहरु मर्न दिइएन। समग्रमा यो वर्ष विद्युत्को लागि धेरै उत्साहजनक देखिएको छ। तर ऊर्जा भन्नेबित्तिकै सबै कुरा जलविद्युत्मै सीमित रहेको देखिन्छ। वैकल्पिक उपायहरु जस्तै– वायु र सौर्य ऊर्जाको चर्चा भैरहेको छैन। हाम्रो देशमा रहेको अपार जलस्रोतको दाँजोमा अन्य ऊर्जाका स्रोतहरु नगन्य र आकर्षण नभएता पनि दीर्घकालीनरुपमा हेर्ने हो भने ऊर्जाका वैकल्पिक स्रोतहरुको विकासलाई पनि नजरअन्दाज गर्नु बुद्धिमानी देखिँदैन।

विश्वको औद्योगिक क्रान्तिपछि कोइला र पेट्रोलियम पदार्थको अत्यधिक दोहन र प्रयोगले कार्बन उत्पादन उच्च मात्रामा हुन पुग्यो। परिणामस्वरुप, विश्व तापमानमा १ डिग्री सेल्सियसभन्दा धेरै वृद्धि हुँदै त्यसको असर बिस्तारै संसारभरि देखिँदै आइरहेको परिप्रेक्ष्यमा सन् २०१५ को पेरिसमा भएको विश्व मौसम परिवर्तनसम्बन्धी सम्झौताले विकसित देशहरुलाई कार्बन उत्पादन कटौती गर्न बाध्य पार्यो। एकातिर कोइलालगायत पेट्रोलियम पदार्थको भण्डार रित्तिँदै जानु र अर्कोतिर विश्व तापमान वृद्धिको नकारात्मक असरले गर्दा सबैलाई भरपर्दो नविकरणीय ऊर्जाका स्रोतका बारेमा सोच्न बाध्य पारिरहेको थियो। सन् २०१६ को आँकडाअनुसार सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशहरु क्रमशः चीन, अमेरिका, भारत र रसिया रहेका छन्। पेरिस सम्झौता (जसलाई १४३ राष्ट्रले अनुमोदन गरेका छन्) अनुसार औद्योगिक क्रान्तिपछिको विश्व तापमान वृद्धि धेरैमा २ डिग्री सेल्सियसभित्रै सीमित गर्नुपर्नेछ। तथापि विश्व तापमानमा औद्योगिक क्रान्तिपछि १ डिग्री सेल्सियस तापक्रम वृद्धि भैसकेको छ। अब पनि छिट्टै उपयुक्त कदम नचाल्ने हो भने विश्व वातावरणमा निकै उथलपुथल आउन सक्ने अनुमान गरिएको छ।

विश्व तापमानमा आएको असरले हाम्रा हिमालको आयुमा प्रश्नचिह्न खडा गरिसकेको छ। वर्षाको ढाँचामा परिवर्तन हुँदै गैरहेको छ। यस्तो अवस्थालाई ध्यान दिँदै जलस्रोतको विकासका साथै सौर्य र वायु ऊर्जाको पनि विकास गर्दै जानु आवश्यक देखिन्छ। सन् २०१४–२०१६ को खडेरीले जलविद्युत्मा परेको असरले पाठ सिक्दै ब्राजिलले वायु ऊर्जाको द्रुतरुपमा विकास गरेको हो। हामीले पनि भविष्यमा त्यस्तै समस्या झेल्नु नपरोस् भन्ने हेतुले ठूला वायु र सौर्य ऊर्जा केन्द्र निर्माण गर्नु आवश्यक छ।

समुद्री सतह बढ्दै माल्दिभ्सजस्ता देशहरु डुब्ने खतरा, हिमालहरु रित्तिँदै जान सक्ने, वर्षाको ढाँचामा परिवर्तन हुँदै पूरै विश्वको इकोसिस्टममै खतरा हुन सक्ने आँकलन गरिएको छ। यिनै कुरालाई ध्यानमा राख्दै धेरै कार्बन उत्सर्जन गर्ने देशले कार्बन कटौती गर्ने उपायस्वरुप ऊर्जा उत्पादनमा नविकरणीय स्रोतहरुको उपयोग बढाउँदै लगेका हुन्। पछिल्लो आँकडाअनुसार वर्षभरिको कुल खपतको अमेरिकामा १५, चीनमा २५, भारतमा ३०, बेलायतमा १५ र जर्मनमा ३५ प्रतिशतको हाराहारीमा नविकरणीय ऊर्जाको योगदान रहेको देखिन्छ।

अति विकसित र मध्यम विकसित देशहरुले जलस्रोतको अधिकतम उपयोग गर्दै, सँगसँगै वायु र सौर्य ऊर्जाको समानान्तर विकास गर्दै बिस्तारै कोइलाद्वारा सञ्चालित परियोजनाहरु विस्थापित गर्दै छन्। यो परिप्रेक्ष्यमा हामीले पनि जलस्रोतको साथै वायु र सौर्य ऊर्जाको विकासमा पनि सोच्नु जरुरी भैसकेको छ।
चीन, भारत, रुस, ब्राजिलजस्ता जलस्रोतका धनी देशहरुले जलस्रोतको साथै सौर्य र वायु ऊर्जाको समानान्तर विकास गरिरहेका छन्। चीनको जलस्रोतमा कुल ६ लाख मेगावाटभन्दा धेरै क्षमता रहेको र त्यसमध्ये ३ लाख २० हजार मेगावाट उत्पादन गरिरहेको छ। वायु ऊर्जा केन्द्रहरुको क्षमता १ लाख ७० हजार मेगावाट र सौर्य ऊर्जा क्षमता ४४ हजार मेगावाट रहेको देखिन्छ। यसै गरी ब्राजिलको कुल जलविद्युत् क्षमता ५ लाख २० हजार मेगावाटमध्ये ९२ हजार मेगावाट उत्पादन गरिरहेको र जलस्रोतको विकाससँगै ११ हजार मेगावाट वायु ऊर्जा केन्द्रको विकास गरेको छ।

वैकल्पिक ऊर्जा केन्द्र (एईपीसी), सौर्य तथा वायु ऊर्जा अध्ययन केन्द्र (एसडब्लुईआरए) जस्ता संस्थाहरुले गरेको आँकडाअनुसार नेपालामा सौर्य ऊर्जा र वायु ऊर्जाका सम्भावना उत्साहजनक नै देखिन्छ। वर्षभरिमा लगभग ३ सय दिन घमौलो रहने, सोलार रेडिएसनको मात्रा ३.६ देखि ६.२ युनिट प्रतिदिन प्रतिवर्गमिटर रहेको तथ्यांकअनुसार नेपालभरि २१ सय मेगावाट बराबरको विद्युत् सौर्य प्राणालीबाट उत्पादन हुन सक्ने देखिन्छ।

नेपालका उच्च पहाडहरु र माथिल्लो हिमाली क्षेत्रका समथर भू–भाग वायु ऊर्जा उत्पादनको लागि उत्तम मानिन्छ। अध्ययनअनुसार नेपालामा ३ हजार मेगावाट वायु ऊर्जाको सम्भावना छ। तर हालसम्म यी कुरा अध्ययनमै सीमित छन्।

ठूला सौर्य र वायु ऊर्जा केन्द्र स्थापना गर्नको लागि आबश्यक पर्ने जमिन एउटा ठुलो चुनौती हो। १ मेगावाट सौर्य विद्युत् उत्पादन गर्न कम्तीमा ६४०० वर्गमिटर जमिन आवश्यक पर्दछ भने वायु ऊर्जाको लागि यो भन्दा पनि धेरै जमिन आवश्यक पर्दछ। यो ठूलो चुनौती हो। अर्को हाम्रो विद्युत् प्रसारण लाइन जलविद्युत्लाई मात्र ध्यानमा राखेर तयार गरिएको छ। सोही कोरिडोरवरिपरि वायु र सौर्य ऊर्जाको लागि उपयुक्त र आवश्यक जमिन पाउन निकै कठिन छ। मुख्य प्रासारण लाइनमा नजोडिएका ठूला वायु र सौर्य ऊर्जा केन्द्रको कुनै उपयोगिता हुँदैन।

१ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन लागत लगभग १० देखि ११ करोड र वायु ऊर्जा १३–१४ करोडको हाराहारीमा हुन्छ। सोही क्षमताको जलविद्युत् उत्पादन गर्न २० करोड जति खर्चिनुपर्छ। सञ्चालन, मर्मत र अन्य कुराहरुको समग्र र दीर्घकालीन लेखाजोखा गर्दा वायु र सौर्य ऊर्जा जलस्रोतको तुलनामा १.५ देखि ३ गुणासम्म महँगो पर्न आउने देखिन्छ।

सौर्य प्रणालीबाट विद्युत् ऊर्जा प्राप्त हुने समय निश्चितजस्तै हुन्छ भने वायुबाट जुनसुकै समयमा पनि उत्पादन हुन सक्छ। तर वायु ऊर्जा उत्पादनको मात्रा एकदम छिटो उतारचढाव हुने हुनाले ग्रिड सन्तुलित राख्न सोही अनुरुपको प्रविधि आवश्यक छ। हाम्रो विद्युत् खपतको उतारचढाव हेर्ने हो भने बिहान र बेलुका उच्च खपत हुने, दिउँसो र रातभर न्यून खपत हुने गरेको छ। न्यून खपतको समयमा जलस्रोतबाटै प्राप्त विद्युत्ले पुग्ने हो भने किन सौर्य ऊर्जा चहियो भन्ने सवाल पनि जायज नै छ। तर जब देशमा प्रशस्त उद्योगधन्दा खुल्नेछन्, त्यस बेला ऊर्जाको उच्च माग दिउँसोको समयमा हुनेछ।

सौर्य ऊर्जाको मात्रा थप्ने एक सरल उपाय घर–घरमा सोलार प्यानल राखेर विद्युत् उत्पादन गर्ने र प्रत्येकलाई राष्ट्रिय ग्रिडमा जोड्ने हो। वैकल्पिक ऊर्जा केन्द्रमार्फत घर–घरमा सोलार जडान गर्ने काम भइरहेको त छ तर तिनीहरु राष्ट्रिय ग्रिडमा जोडिन सकेका छैनन्। सरकारले सौर्य ऊर्जा उत्पादन बढाउन अनुदान र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँदै आए पनि त्यति सफल हुन सकेको देखिँदैन। १ लाख घरमा मात्रै १ किलोवाट क्षमताका सौर्य उपकरण जडान गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकियो भने पनि धेरैमा १०० मेगावाटसम्मको योगदान पुग्न सक्छ। उक्त जडित सोलारबाट प्राप्त विद्युत् सम्बन्धित घरले नै प्रयोग गर्ने र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जाने हुँदा समग्र विद्युत् वितरण प्रणालीमा नै सहयोग पुग्ने हुन्छ। यसरी राष्ट्रिय ग्रिडमा जोडिन आएको बिजुलीलाई सरकारले आकर्षक मूल्यमा किनिदिनु आवश्यक छ। विश्वभर सौर्य ऊर्जा उपकरणको मूल्य घटिरहेकोमा नेपालमा भने अझै १ किलोवाटको सौर्य ऊर्जा उपकरण र जडान खर्च रु. ४ लाखको हाराहारीमा पर्ने गरेको छ। जबकि भरतमा ने.रु. १ लाख ५० हजारको हाराहारीमै सम्पन्न हुन्छ।

वायु र सौर्य ऊर्जा आयोजनाहरुको सबैभन्दा सबल पक्ष भनेको केही महिनामै कैयौं मेगावाटका आयोजनाहरु सम्पन्न गर्न सकिन्छ, जुन जलविद्युत्मा सम्भव छैन। त्यसैले वैकल्पिक स्रोतहरुको सन्तुलित परिचालन गर्न केही ठूला वायु वा सौर्य ऊर्जा केन्द्र स्थापना गर्न जरुरी छ। यदि हामीसँग अहिले १०० मेगावाट क्षमताका सौर्य वा वायु ऊर्जा केन्द्र हुन्थे भने दिउँसोको समयमा भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था हुने थिएन र ठूलो रकम विदेशिनबाट रोकिने थियो।

विश्व तापमानमा आएको असरले हाम्रा हिमालको आयुमा प्रश्नचिह्न खडा गरिसकेको छ। वर्षाको ढाँचामा परिवर्तन हुँदै गैरहेको छ। यस्तो अवस्थालाई ध्यान दिँदै जलस्रोतको विकासका साथै सौर्य र वायु ऊर्जाको पनि विकास गर्दै जानु आवश्यक देखिन्छ। सन् २०१४–२०१६ को खडेरीले जलविद्युतमा परेको असरले पाठ सिक्दै ब्राजिलले वायु ऊर्जाको द्रुतरुपमा विकास गरेको हो। हामीले पनि भविष्यमा त्यस्तै समस्या झेल्नु नपरोस् भन्ने हेतुले ठूला वायु र सौर्य ऊर्जा केन्द्र निर्माण गर्नु आवश्यक छ। ऊर्जा मिश्रण नै भविष्यमा उत्पन्न हुन सक्ने समस्याको सामाधान हो।
(लेखक ऊर्जा विशेषज्ञको रुपमा बेलायतमा कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्