दाजुभाइ नै मेयर उम्मेदवार



रोशन पराजुली, हेटौंडा

हेटौंडा उपमहानगर–५ मा सँगै टाँसिएको घर। एउटालाई पीर पर्दा अर्कोलाई दुःख हुन्छ, एउटालाई चोट पर्दा अर्को रुन्छ। चाडपर्व वा अन्य पारिवारिक घरधन्दा सँगसँगै गर्छन्। आदर, सत्कार र मेलपिलापमा कुनै कमी छैन, एउटै घरसरह बस्दै आएका छन्।

नाताले हरिबहादुर (हरिबल) महत र भीमसेन महत सहोदर दाजुभाइ हुन्। तर, राजनीतिक आस्था र विचारका आधारमा भने दुवैको मन मिल्दैन। यति मात्रै होइन, स्थानीय तह निर्वाचनमा उनीहरू फरक–फरक पार्टीबाट एउटै पदका लागि उम्मेदवार बनेका छन्। दाइ हरिबल र भाइ भीमसेन दुवै जना हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार बनेका हुन्।

दाइ हरिबल नेकपा एमालेबाट मेयर उठेका छन् भने भाइ भीमसेन नेकपा मालेका तर्फबाट घोषित उम्मेदवार छन्। हरिबल र भीमसेन दुवैले स्थानीयस्तरमा निकै राम्रो प्रभाव पारेका छन्। उनीहरू लोकप्रिय युवा नेता हुन्। हरिबल नेकपा एमाले जिल्ला सदस्य हुन् भने भीमसेन पार्टीका केन्द्रीय सदस्य र मकवानपुर सचिव छन्। हरिबल नेकपा एमालेमा लामो समयदेखि सक्रिय छन्। उनी दुईपटक उपमेयर निर्वाचित भइसकेका छन्। उनी उपमेयर रहेकै नगरपालिकामा भएका भ्रष्टाचारविरुद्ध भाइ भीमसेनले लामो समयदेखि विभिन्न फोरममा आवाज उठाउँदै आएको पाइन्छ।

हरिबलले स्थानीयस्तरमा विद्यालय र क्लबहरूलाई स्वदेशी र विदेशी दातृ निकायसँग सहकार्य गरी सहयोग गर्दै आएका छन्। विशेषतः बालबालिकाको शिक्षा अधिकार र विकासमा युवा परिचालनका पक्षमा हरिबलले काम गरेको करिब अढाइ दशक नघिसकेको छ। भीमसेन नगरपालिकामा हुने गरेका वा बहुचर्चित हेटौंडा–काठमाडौं शुरूङमार्गलगायतमा भएका भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका सक्रिय युवा हुन्। उनले हेटौंडा–१०, बसपार्क नजिक स्थापित सवारी कर संकलन चौकीबाट संकलित रकममा व्यापक भ्रष्टाचारको आरोप लगाइएपछि छानविनका लागि तेस्रो समिति गठन गरिएको थियो।

नेकपा माले मकवानपुरले आवाज उठाएपछि नगरपालिकाले शुरूमा कर्मचारीकै समिति बनाएको थियो। त्यसको प्रतिवेदनउपर विश्वास नगरी दलीय संयन्त्र आफैंले समिति बनाएर अवलोकन गरेका थिए। त्यसपछि पछिल्लो समय नगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ र नारायणी यातायात व्यवसायी संघलगायत सम्मिलित कमिटी बनाइएको थियो।

यसै सन्दर्भमा १३ वर्षदेखि कम्तीमा २० करोड भ्रष्टाचार हुँदा पनि भ्रष्टाचारीलाई कारबाही नगरी संरक्षण गरिराख्नुले नगरपालिकाको नियतमाथि प्रश्न खडा भएको भीमसेनले दाबी गरेका थिए। राजनीतिक दलहरूको संयन्त्रले उक्त पटके सवारी करलाई ठेक्का प्रणालीमा लैजान नगरपालिकालाई एकै स्वरमा आग्रह गरेपछि नगरपालिका बाध्य भएको थियो। हाल त्यहाँ ठेक्का प्रणालीमार्फत् सवारी कर संकलन हुँदै आएको छ। यसले नगरपालिकाको आम्दानी वार्षिक करिब अढाइ करोड बढाएको भीमसेनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्