१३ जनाबाट घूस लिने नासुलाई अख्तियार पठाइयो



रामधन राई, खोटाङ
अहेवको करार पदमा जागिर लगाइदिने भन्दै परीक्षार्थीबाट रकम लिने जिल्ला अस्पताल खोटाङका नासु केदारनाथ खनाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष पठाइइएको छ। पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले खोटाङका लागि खुलाएको अहेवको अस्थायी करार कोटामा जागिर लगाइदिन्छु भन्दै १३ जना परीक्षार्थीबाट रकम असुलेको आरोपमा वैशाख १७ गते पक्राउ परेका नासु खनाललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पठाएको हो।

जापिगर सुनिश्चितताका लागि घूस खुवाए पनि अहेवमा नाम ननिस्किएपछि असन्तुष्ट परीक्षार्थीले आवाज उठाउँदा नासु खनालले १३ परीक्षार्थीबाट प्रतिव्यक्ति २० हजारदेखि ५० हजारसम्म असुलेको स्वयम्ले स्वीकार गरेका थिए। जिल्ला प्रशासनसमक्ष खनालले केही व्यक्तिको रकम फिर्ता गरिसकेको र केहीको भने ब्याजसहित नै फिर्ता गर्ने सार्वजानिक रूपमा स्वीकार गरेका थिए।

प्रमाण बरामद, प्रमाणको खोजी, मुचुल्का तयार, बयानलगायतका प्रारम्भिक अनुसन्धान गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि नासु खनाललाई अख्तियार समक्ष पठाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको भनाइ छ। परीक्षार्थीबाट रकम लिएको मौखिक तथा लिखित उजुरी परेपछि प्रशासनको अनुन्धानमा तानिएका नासु खनाललाई प्रशासनले कर्मचारी र सुरक्षाकर्मीसहित इटहरी पठाएको जनाएको छ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेवको अस्थायी करार कोटा खुलाएको थियो। रकम दिए पनि अहेवको करारमा नाम ननिस्किएपछि आक्रोशित परिक्षार्थीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ लाई सहयोगका लागि गुहारेपछि घटना छताछुल्ल भएको हो। कांग्रेस क्षेत्रीय समितिले आवाज उठाउँदै नासु खनाललाई कार्यकक्षबाट बाहिर निकालेर ताला लगाएपछि प्रहरीले खनाललाई नियन्त्रणमा लिएर प्रशासन समक्ष बुझाएको थियो। खनालमार्फत पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाका नासु ज्ञानप्रसाद पोखरेललगायतको हातमा रकम पुगेको स्रोतको दाबी छ।

रसुवाका दुई कर्मचारी अख्तियारको फन्दामा

रसुवा, (नेस)
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ कात्तिकदेखि रसुवागढी नाका सञ्चालनमा आयो। चीनसँगको एक मात्र नाका रसुवागढी सञ्चालनमा आएपछि सबै व्यापारी तथा अवैध सामग्री ओसारपसार गर्नेको लर्को लाग्न थाल्यो।
चीन प्रवेशका लागि जिल्लाभन्दा बाहिरका व्यापारी तथा सवारी चालकलाई एकदिने पास उपलब्ध नगराएपछि ‘चाइना पास’ किनबेच हुने गरेको पाइएको छ। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रसुवाको नौकुण्ड गाउँपालिकाका दुई जना कर्मचारीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो।

चीन प्रवेशका लागि आवश्यक पर्ने चाइना पास किनबेच भइरहेको विशेष सुराकी पाएर अख्तियारको टोली एक साताअघि नै रसुवा आएको थियो। नौ जनालाई प्रति व्यक्ति ५० हजारका दरले चाइना पास दिनका लागि ४ लाख ५० हजार रकम मागेका अख्तियारले जनाएको छ। चाइनामा व्यापार गर्नका लागि पास उपलब्ध नहुने भएपछि रकम तिरेरै भए पनि पास बनाउने तयारीमा उनीहरू रहेका थिए। जग्गा खरिद गरेर बसाइँसराइ गरेको भए पनि पास नबन्दा उनीहरू समस्यामा परेका थिए। यसै क्रममा जग्गा खरिद गरेका उनीहरूको सम्पर्कमा नौकुण्ड गाउँपालिकाको वडा १ र २ का वडा सचिव राजेन्द्रप्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा भनेर चिनिने श्लोक लामा पुगेका थिए।

चाइना पास बनाइदिने भन्दै बाहिरी जिल्लाका प्रत्येक व्यक्तिसँग ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा गोसाइँकुण्ड गाउँपालिका–६ को वडा कार्यालयबाट वडा सचिव र कार्यालय सहायकलाई अख्तियारले रंगेहात प्रक्राउ गरेको हो। वडा सचिव आचार्यबाट १ लाख ३० हजार र सहायक वडा सचिव लामाबाट ३ लाख २० हजार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बताउनुभयो। जिल्ला बाहिरका व्यक्ति व्यापारिक प्रयोजनका लागि जिल्लाको डाँडापाखाभीरमा जग्गा किनेर बसाइँसराइ गरिरहेका छन्। बसाइँसराइ गर्नका लागि समेत रकमविना काम नगर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्