सडक खुलेको ३६ वर्षपछि पक्की हुँदै



अनिल खत्री, गुल्मी
वर्षौंदेखिको जोखिमपूर्ण यात्रा हट्ने भएको छ। गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत ५ किलोमिटर सडकको कालोपत्रे शुरू भएको छ। पहिलो चरणमा नादेयाखोलादेखि उल्लीखोलासम्मको करिब ५ किलोमिटर सडकको कालोपत्रे शुरू भएको हो। पश्चिम भेगकै व्यस्त सडक पक्की हुने भएपछि सो क्षेत्रका स्थानीयको लामो समयदेखिको कष्टपूर्ण यात्रा बदलिने भएको छ।

वर्षौंदेखि निकै कष्टपूर्ण यात्रा गरिरहेका यस क्षेत्रका स्थानीय सडक पक्की बन्ने भएपछि खुसी भएका छन्। सडक खुलेको करिब ३६ वर्षपछि बाटो पक्की हुँदै छ रे भन्ने खबर सुनेपछि कुर्घाकी सुमित्रा रायमाझी आफू निकै हर्षित रहेको बताइन्। ‘हामीले त जसोतसो हिँडियो अबका पिँढीलाई निकै सुखद यात्रा बन्ने भयो’, सुमित्राले भनिन्– ‘अब बाटो पक्की बने के शहर के गाउँ सबै सुगम बन्ने भयो।’

गुल्मीमा रहेका सडकमध्ये अति व्यस्त सडक र ओझेलमा परेको सडक सबै मिलेर पक्की गर्नु बाध्यता रहेको स्थानीय सोमनाथ सापकोटाले बताए। उनले भने– ‘२०३८ सालमा ट्रइक खोलेर धेरै समयसम्म निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।’ अबको एक डेढ वर्ष भित्र वामीदेखि बुटवलसम्मको यात्रा सुखमय बन्ने सापकोटाले बताए। पर्याप्त रकम नपर्दा बाटोको स्तरोन्नतिसँगै पक्की गर्न नसकिएको सापकोटाले बताए।

सडकको कालोपत्रेको काम रसुवा एबीएजेबी काठमाडौंले गरिरहेको छ। नादेयाखोला भन्दा अगाडि रिडीसम्मको कालोपत्रे गर्ने जिम्मेवारी कालीगण्डकी कोरिडोरको भएको उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज लम्सालले जानकारी दिए। उनले यही आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताए। ‘यो आर्थिक वर्षमा पहिलो प्याकेजको सम्पूर्ण काम सक्ने लक्ष्य लिएका छौं’, उनले भने– ‘बढीभन्दा बढी मेसिनहरूको प्रयोग गरिएकाले समयमै काम सम्पन्न हुने आशा राखेका छौं।’ उनले पहिलो चरणको काम सकेपछि दोस्रो चरणमा उल्लीखोलाबाट बाँकी खण्डमा काम शुरू गरिने जानकारी दिए।

सडकको स्तरोन्नति सँगै कालोपत्रे गर्नका लागि ४८ करोड ७३ लाख बजेट विनियोजन भएको थियो। पहिलो र दोस्रो चरणमा गरिने कालोपत्रेले रिडीदेखि वामीसम्मको बाटोमा केही भए पनि सहजता ल्याउने कुर्घाका समाजसेवी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटाले बताए। ‘थोरै मात्रामा कालोपत्रे भए पनि यात्रामा सहजता थपिनेछ,’ उनले भने– ‘यो आर्थिक वर्षपछि स्थानीयको यात्रा सजिलो बन्नेछ।’

बाटो निर्माणका शुरूदेखि त्यस क्षेत्रका राजनीतिक दल, समाजसेवीले महत्त्वपूर्ण भूमिका निभाएका छन्। ३६ किलोमिटर रहेको उक्त सडकको स्तरोन्नतिको वर्षाैं पहिलेबाट शुरू भए पनि धेरै समयपछि काम शुरू भएको छ। हाल सडक फराकिलो बनाउने तथा अन्य व्यवस्थापकीय काम पनि धमाधम भइरहेको रहेको छ। रिडीदेखि वामीसम्मको पूरै सडक कालोपत्रे भए यस क्षेत्रका स्थानीय सिधा बुटवलसम्म पक्की मार्गबाट पुग्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्