कांग्रेस उम्मेदवारको प्रतिबद्धता



पुष्कर बुढाथोकी, भक्तपुर

निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भएकाहरूले भक्तपुरका ४ नगरलाई विकसित र समृद्ध बनाउने घोषणा गरेका छन्। सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुर थिमी नगरका मयेर उम्मेदवार रहेका विष्णुराज कार्की, राजाराम खड्का, राम कासुलाले र अष्टकुमार कवेँले आफ्नो जितसँगै नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राख्ने बताए।

बुधबार रफत सञ्चार क्लबमा बोल्दै उम्मेदवार कार्कीले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, नगरका नागरिकको आयस्रोतलाई उच्च बनाउने, भक्तपुर नेपालकै सफल कृषि आधुनिकीकरण एवं उत्पादनको जिल्लाका रूपमा विकास गर्ने विचार व्यक्त गरे।

उनले भने– ‘राष्ट्रिय प्राणी उद्यानको पूर्णता दिने कार्यमा तीव्रता दिने र जैविक विविधताको संरक्षण एवं प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका रहनेछ।’ कार्कीले सूर्यविनायकलाई सडक र खानेपानीबाट जोड्ने, गाउँगाउँमा पक्की सडक पुर्याउने, स्वास्थ्य संस्थाको विकास गर्दै गाउँगाउँमा पहुँच पुर्याउने बताए।

त्यस्तै चाँगुनारायण नगरबाट कांग्रेसका उम्मेदवार रहेका खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। उपत्यकाभित्र पछि परेको भक्तपुरको १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको उनको भनाइ थियो। भक्तपुर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
त्यस्तै कांग्रेसबाट मध्यपुर थिमी नगरका मेयरका उम्मेदवार भएका अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूल प्रवाहमा ल्याउने बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– ‘मध्यपुर नगरपालिका भएर बग्ने मनोहरा हनुमन्ते खोलामा करिडोर निर्माण गरिनेछ, यहाँका सामुदायिक विद्यालयहरूको गुणस्तरमा वृद्धि गर्ने कार्यक्रम अघि सारिनेछ।’

मध्यपुरलाई सांस्कृतिक शहरका रूपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पहँुचमा वृद्धि गर्ने योजनाहरू लिएर निर्वाचनमा आएको उनको भनाइ छ। कवेँले मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने, मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरिया नेपाल मैत्री अस्पताललाई सुविधा सम्पन्न र मध्यपुरका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्