उम्मेदवारी दर्तासँगै विजयी



निर्वाचनमा उम्मेदवारी दर्तासँगै राजनीतिक दलबीचको रफ्ताफ शुरू भएको छ। दुई नगर र ९ गाउँपालिका रहेको गोरखामा राजनीतिक दलहरूबीच चर्काे प्रतिस्पर्धा हुने पनि देखिन्छ। तर, गोरखाकै तिब्बतसँग सिमाना जोडिएका चुमनुब्री गाउँपालिकाको तीनवटा वडाहरू १ सामागाउँ, २ ल्हो र ३ विहीमा भने उम्मेदवारहरूले उम्मेदवारी दर्तासँगै जित पनि सुनिश्चित गरेका छन्। स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलहरूले उम्मेदवारी दर्ता अगावै एकआपसमा पद भागवण्डा लगाएर दर्ता गरेका हुन्। तीनवटै वडामा नेपाली कांग्रेसका नेता वडा वडाअध्यक्ष बन्ने पक्का भएको हो।

वडा नं. १ सामागाउँमा कांग्रेसका वीरबहादुर लामा अध्यक्ष बनेका छन्। सदस्यहरूमा कांग्रेसका निमा दोर्जे लामा, एमालेबाट मिंग्मार लामा, माओवादी केन्द्रका निमा छेदेनले मात्र उम्मेदवारी दर्ता गरेका हुन्। गाउँपालिकाको अध्यक्ष बनेका वीरबहादुरले केही दिनअघि मात्र शिक्षक पेसा त्यागेर वडा अध्यक्ष बनेका हुन्।

त्यस्तै वडा नं. २ पनि कांग्रेसकै पेम्बा रितार वडा अध्यक्ष हुने पम्का भएको हो। सदस्यहरूमा कांग्रेसकै छेवाङ ग्याल्जेन, माओवादी केन्द्रबाट पासाङ ल्हामु, लाक्पाडिकी विक र पेम्बा छिरिङले उम्मेदवारी दर्ता गरेका हुन्। उनीहरूले दर्ता गरेको पदमा दोहोरो उम्मेदवारी कसैको नपरेको निर्वाचन अधिकृत हरि दाहालले टेलिफोनमा जानकारी दिए। वडा नं. ३ विहीमा पनि कांग्रेसका सोनाम ग्याल्जेन लामा अध्यक्ष भएका हुन्। सदस्यहरूमा कांग्रेसकै कालेन छेवाङ, निमाडिकी छन्। त्यस्तै सदस्यहरूमा माओवादीबाट कुन्साङ ढुण्डुप निर्विरोध विजयीसमेत भएका हुन्।

चुमनुब्री गाउँपालिकाको प्रमुखमा कांग्रेसका धनबहादुर गुरुङ, एमाललेकी सूर्यकुमारी गुरुङ, माओवादी केन्द्रबाट लाक्पा ढुण्डुप लामा, र नयाँ शक्तिबाट रिन्जिननुर्बु लामाको उम्मेदवारी परेको छ। यिनीहरू भने ३१ गते निर्वाचनमा सहभागि हुनेछन्।

प्रतिक्रिया दिनुहोस्