मध्यरातसम्म उम्मेदवारी दर्ता



मोतीराम तिमल्सिना, काभ्रे
यही ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १३ वटै स्थानीय तहमा मंगलबार मध्यरातसम्म उम्मेदवारी दर्ता भएको छ। प्रक्रिया पुर्याएर दर्ता गर्ने काम मध्यरातिसम्म धकेलिएको निर्वाचन अधिकृतहरूले बताएका छन्। सबैभन्दा ढिलो पनौती नगरपालिकामा उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए। नगर प्रमुखमा स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका पनौती नगरपालिकामा २ सय ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

१२ वटा वडा रहेको पनौती नगरपालिकामा भुषणकुमार श्रेष्ठ, शम्भु राउत र श्यामसुन्दर अधिकारीले स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम, नेकपा माले, नयाँ शक्तिलगायतका दलहरूले उम्मेदवारी दर्ता गरेका छन्। ‘रातको १२ बजेसम्म राप्रपा र मजफोका कार्यकर्ताहरू उम्मेदवारी दर्ताका लागि बसिरहेका थिए’, सहायक निर्वाचन अधिकृत अधिकारीले भने– ‘उहाँहरू चार बजे अगावै निर्वाचन कार्यालयमा आइसक्नुभएको थियो, प्रक्रिया पुर्याउँदा बुधबार बिहान ३ बजे मात्रै उम्मेदवारीसम्बन्धी काम सकियो।’ उपप्रमुखमा भने ६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्।

बनेपामा रातको ११ बजे कामै निर्वाचनको उम्मेदवारी दर्तासम्बन्धी काम सकिएको बताइएको छ। धुलिखेलमा भने साँझ ५ बजे नै दलहरूले उम्मेदवारी दर्ता गरेर फर्किए पनि काम सम्पन्न हुँदा ९ बजेको थियो। डाँडापारी, कोसीपारि, तेमाल, रोशी, मण्डन, पाँचखाल, बेथाञ्चोकलगायतका क्षेत्रमा पनि राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो।

तीन महिला प्रमुख
नेकपा माओवादीले काभ्रेका तीनवटा स्थानीय तहमा महिला प्रमुख उम्मेदवार बनाएको छ। मण्डन देउपुरमा रीता ढकाल, पनौतीमा जमुना सापकोटा र धुलिखेलमा सरस्वती लामालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ।

तीन उम्मेदवार निर्विरोध
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर २ मा नारायणी दमाई दलित महिला सदस्य पदमा नेकपा एमालेको तर्फबाट निर्विरोध भएकी छिन् भने बनेपा नगरपालिका–८ बाट गंगा बर्देवा निर्विरोध भएकी छिन्। त्यस्तै नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएकी तेमाल गाउँपालिका २ मा विना परियार निर्विरोध भएकी छिन्।

कर्मचारीलाई तालिम
निर्वाचनका लागि खटिने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरूको तालिम शुरू भएको छ। प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले तालिमको उद्घाटन गर्दै कर्मचारीहरूलाई निस्पक्ष, तटस्थतामा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन्। तालिमको उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्याल, एसपी सहकुलबहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौड्याल, निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेललगायतले कर्मचारीलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिए। जिल्लामा १ सय ८९ वटा मतदान स्थलमा ३ सय ७ मतदान केन्द्रमा ७ जनाका दरले कर्मचारी खटिनेछन्। त्यसकै हाराहारीमा सुरक्षाकर्मी खटिनेछन्। सुरक्षाकर्मीलाई समेत तालिम दिइसकिएको छ। कर्मचारीहरू २७ गतेदेखि मतदान केन्द्रमा खटिनेछन्।

प्रतिक्रिया दिनुहोस्