सात दलको मात्र उम्मेदवारी



नवीन श्रेष्ठ, सिन्धुली

स्थानीय तहको निर्वाचनमा भाग लिन सातओटा दलले मात्र सिन्धुलीमा मनोनयन दर्ता गराएका छन्। जिल्लाको कमलामाई नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टी दर्ता नगरेको नेकपा क्रान्तिकारी माओवादीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन मनोनयका बेला तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाजागाजा र नाराजुलुससहित माढी बजारको परिक्रमापश्चात् निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

तीनवटा पार्टीले जिल्लाका ९ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् भने अन्य दलहरू सदरमुकाम केन्द्रित देखिएका छन्। यस निर्वाचनमा स्वतन्त्र उम्मेदवार भने कमै देखिएको प्रमुख निर्वाचन अधिकृत एवम् सिन्धुलीका जिल्ला न्यायाधीश परशुराम भट्टराईले जानकारी दिए। जिल्लाका सबै स्थानीय तहमा मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए। साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालय हातामा आएका सबै उम्मेदवारहरूलाई मनोनयन दर्ता गर्न दिएको प्रमुख निर्वाचन अधिकृत भट्टराईले बताए।

गोलन्जोरलगायतका केही गाउँपालिकामा स्वतन्त्र व्यक्तिहरूको उम्मेदवारी परेको भए पनि अन्यत्र खासै नपरेको उनले बताए। विषेश गरी प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँशक्तिलगायतका दलको उम्मेदवारी परेको उनले बताए। ठूला दलमध्ये सदरमुकामस्थित कमलामाई नगरपालिकामा एमालेले पहिले उम्मेदवारी दर्ता गराएको उनले बताए। सो दलले खड्ग खत्रीलाई मेयर र मञ्जु देवकोटालाई उपमेयरमा उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ। त्यसपछि नेकपा माओवादी केन्द्रले सावित्रा पाण्डे मेयर र सावित्री श्रेष्ठलाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको छ। नेपाली कांग्रेसले मेयरमा उपेन्द्र पोखरेल र उपमेयरमा सुशीला थिङलाई उम्मेदवार बनाएको छ।

यसै गरी नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीले मेयरमा शम्भु कार्कीको उम्मेदवारी दर्ता गराएको छ। राप्रपाले मेयरमा इन्द्र भुजेललाई मेयर र देवकी कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ। नयाँ शक्ति पार्टीले दीर्घराज श्रेष्ठलाई मेयर र वन्दना सुवेदीलाई उपमेयरमा उठाएको छ। यसै गरी वैद्य निकट देशभक्त गणतान्त्रिक मोर्चाले मेयरमा सुभाष रायमाझीलाई उठाएको छ भने उपमेयरमा सुनिता बुढाथोकीलाई उठाएको छ।

यही ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका दुई नगरपालिकामा २ जना मेयर, २ जना उपमेयर निर्वाचित हुनेछन् भने ७ गाउँपालिकामा ७ जना गाउँपालिका प्रमुख र ७ जना उपप्रमुख निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार सिन्धुलीमा १ लाख ६८ हजार २ सय ४७ जना मतदाता रहेका छन्। ९ वटा स्थानीय तह रहेको जिल्लामा ७९ वटा वडा रहेको र स्थानीय तह निर्वाचनबाट ३ सय १६ जना वडा सदस्य निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सिन्धुलीमा वैशाख ३१ गते हुने निर्वाचनका लागि १ सय ३७ मतदान स्थलमा २ सय ३० वटा मतदान केन्द्रबाट मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्