राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण



त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलबाट बुधबार अपहरणमा परेका पाँचमध्येका चार विद्यार्थी उद्धारपछि। तस्वीरः नेपाल समाचारपत्र

दीपक रिजाल, काठमाडौं
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन्। स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए।

मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरूलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभाष खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरूले अपहरण गरेर लगेका थिए। २० देखि २५ वर्ष उमेरका अपहरणकारीले ती कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भए पनि अन्य ४ जनालाई भने सँगै लगेका थिए।

  • स्कुलनजिकै खेल्दाखेल्दै मास्क लगाएका व्यक्ति आएर उनीहरूलाई मुख छोपेर लगेका थिए।
  • एक विद्यार्थी बाटोमा अपहरणकारीको हात टोकेर भागेका थिए।
  • ४ जनालाई लग्दै गर्दा एक विद्यार्थीले ‘हेल्प मी’ भनेपछि स्थानीयले पछ्याउन थाल्नासाथ अपहरणकारी भागेका थिए।
  • हात टोकेर भागेका विद्यार्थी सुरुमा नभेटिए पनि पछि परिवारको सम्पर्कमा पुगेका थिए।

उनीहरूले अपहरणमा परेका बालकलाई केही नबोल्न चेतावनी दिँदै ललितपुरको शंखमूलमा रहेको पुलमा पुर्याएका थिए।

उनीहरूले एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी ‘हेल्प मी’ भनेर चिच्याएपछि स्थानीय ती स्कुले विद्यार्थीतर्फ अघि बढेका थिए। त्यसपछि अपहरणकारीहरू बच्चालाई छोडेर भागेका थिए।

‘सामान्य परिवारमा जन्मिएका ती स्कुले विद्यार्थीलाई अपहरणकारीले किन अपहरण गरे भन्ने बारेमा अहिले हामी अनुसन्धान गरिरहेका छौं।’ –महानगरीय प्रहरी परिसर ललितपुरले नेपाल समाचारपत्रलाई जानकारी दियो। स्थानीयले स्कुले बच्चा अपहरणमा परेको जानकारी ललितपुर प्रहरीलाई दिएपछि प्रहरीले स्थानीयको संरक्षणमा रहेका ती स्कुले बच्चालाई उद्धार गरेको थियो।

बच्चा अपहरणमा परेको थाहा पाउनासाथ आफू खोजीमा निस्केको सो स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिनुभयो।

स्कुले बच्चा अपहरणमा परेको थाहा पाउनासाथ प्रहरीमा खबर गरेर खोज्दै जाँदा आफ्ना स्कुलका विद्यार्थीलाई सकुशल फेला पार्न सकेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ठूले राईले अपहरणकारीको खोजीकार्य जारी रहेको र प्रहरीले समयमा नै उक्त घटना थाहा पाएकाले कुनै अप्रिय घटना हुन नपाएको जानकारी दिनुभयो।

प्रहरीले ४ जना स्कुले बच्चालाई सकुशल उद्धार गरेर स्कुल प्रशासनको रोहवरमा अभिभावकको जिम्मा लगाएको थियो। तर, स्कुल प्रशासन र प्रहरीलाई अपहरणकारीको पन्जाबाट उम्किएका मन्सुरी बेलुकासम्म परिवारको सम्पर्कमा नआएका कारण तनाव उत्पन्न गराएको थियो। अपहरणकारीको पन्जाबाट उम्किएर सम्पर्कमा नआएका मन्सुरीको खोजीमा निस्किएको प्रहरी टोली उनी अभिभावको सम्र्पकमा आएको थाहा पाएपछि फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्