राष्ट्रपति श्रीलंका जाँदै थाई नरेशसँग पनि भेट्ने



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख २९ गते श्रीलंका भ्रमणमा जानुहुने भएको छ। श्रीलंकाली समकक्षी मैथ्रिपाला सिरिसेनाको निमन्त्रणामा उहाँ सो मुलुकको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ।

भगवान् बुद्धले बोधिज्ञान प्राप्त गर्नुभएको र बुद्ध महापरिनिर्वाण हुनुभएको अवसर पारेर सो मुलुकले राजधानी कोलम्बोमा आयोजना गर्ने अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनको प्रमुख अतिथिका रूपमा राष्ट्रपति भण्डारी सहभागी हुने बताइएको छ।

यही वैशाख ३१ गते समापन हुने अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिका रूपमा सहभागी हुन राष्ट्रपतिलाई श्रीलंकाली समकक्षीबाट औपचारिक निम्तो आएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो। सो सम्मेलनमा अन्य छिमेकी मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाईसमेत श्रीलंकाले निम्तो पठाएको बताइएको छ।

नेपाल–श्रीलंकाबीच नियमित हवाई उडान सुविधा नभएकाले राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै श्रीलंका पुग्ने बताइएको छ। उहाँ नेपाल एयरलाइन्सबाट २९ गते थाइल्याण्ड प्रस्थान गर्नुहुनेछ। राष्ट्रपति भण्डारी त्यहाँबाट ३० गते मात्र श्रीलंका प्रस्थान गर्ने प्रारम्भिक कार्यतालिका तय भएको छ।
स्रोतका अनुसार थाइल्यान्डमा रहँदा राष्ट्रपति भण्डारीले थाई नरेश माहा बजिरालोङकोर्न बोदिन्द्र देबायाभाराङकुनसँग शिष्टाचार भेटवार्ता गर्ने गरी राष्ट्रपति कार्यालयले गृहकार्य अघि बढाएको छ। श्रीलंकामा रहँदा राष्ट्रपति भण्डारीले आफ्ना श्रीलंकाली समकक्षी सिरिसेनासहित अन्य उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ। यसैबीच श्रीलंकाका लागि नवनियुक्त नेपाली राजदूत प्राडा विश्वम्भर प्याकुरेलले आगामी २९ गते श्रीलंकाका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउँदै हुनुहुन्छ।

‘राष्ट्रपति भण्डारीको भ्रमणलाई सहजीकरण गर्न त्यसअघि नै राजदूत प्याकुरेलले आफ्नो प्रमाणपत्र बुझाएर कार्यभार सम्हाल्न लाग्नुभएको हो’ –परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने। प्याकुरेल आज दिल्ली हुँदै श्रीलंका जाँदै हुनुहुन्छ। राष्ट्रपति भण्डारी जेठ २ गते स्वदेश फर्किनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्