सुर्खेतमा शक्तिप्रदर्शन सहित मनोनयन दर्ता,को-को बने उम्मेदवार ?



वैशाख १९, सुर्खेत ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावकालागि सुर्खेतका सबै स्थानीय तहमा मनोनयन दर्ता गरिएको छ । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा शान्तिपूर्ण रुपमा उम्मेदवारी (मनोनयन दर्ता) भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिए ।

जिल्लामा सक्रिय १७ ओटा राजनीतिक दलमध्ये प्रमूख तीन दल नेपाली काँग्रेस, नेकपा एमालेले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन । सुर्खेतमा ५ नगरपालिका र ४ गाँउपालिका रहेका छन । जिल्ला भरमा जम्मा ९९ ओटा वडा रहेका छन् ।

स्थानीय तहको निर्वाचनबाट जिल्लामा ५ मेयर, ५ उपमेयर, ४ प्रमुख, ४ उपप्रमुख, ९९ वडाअध्यक्ष र समावेशी सहित ३९६ सदस्यहरु गरि जम्मा ५ सय १३ जना प्रतिनिधि छनौट हुनेछन् ।
सुर्खेत जिल्लामा जम्मा १ लाख ८४ हजार ३ सय ९९ मतदाताले मतदानमा भाग लिन पाउने छन् । जसमध्ये वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ७ सय ४० मतदाता रहेका छन् ।
गुर्भाकोट नगरपालिकामा २५ हजार ८ सय ३६, लेकबेशी नगरपालिकामा १७ हजार २ सय ७६, भेरीगंगा नगरपालिकामा २३ हजार १ सय १२, पञ्चपुरी नग्रपालिकामा १७ हजर २ सय ७८ मतदाता रहेका छन् ।
त्यस्तै सिम्ता गाउँपालिकामा १४ हजार ७ सय ४१, चिङ्गाड गाउँपालिकामा ९ हजार २ सय २७, बराहताल गाउँपालिकामा १३ हजार ७ सय ५६, चौकुने गाउँपालिकामा १२ हजार ५ सय ३१ मतदाताले स्थानीय निकायको निर्वाचनमा सहभागि भएर मतदान गर्न पाउने छन् ।

राजनीतिक दलद्वारा शक्ति प्रदर्शन
प्रदेश नं. ६ को राजधानीको रुपमा चर्चित वीरेन्द्रनगर नगरपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्दा प्रमुख तीन ठूला दलले शक्ति प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका विभिन्न दलहरुले मंगलबार आ–आफ्नो पार्टीले जित्ने दाबीका साथ उम्मेदवारी दर्ता गराएका हुन ।
सदरमुकाम वीरेन्द्रनगरसँगै जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा राती बजेसम्म मनोनयन गर्ने कार्यक्रम जारी रहेको निर्वाचन कार्यालयले बताएको छ । सदरमुकाम वीरेन्द्रनगर नगरपालिकामा ११ वटा दलले आफ्नो मनोनयन दर्ता गएका छन् । एग्घार दलका ११ जनासहित ३ जना स्वतन्त्र उम्मेदवारले समेत मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एग्घार दलका ११ जनासहित १ जना स्वतन्त्र उम्मेदवारले उपमेयरमा दर्ता गएको सहायक निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

यी हुन उम्मेदवार
वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसका देवकुमार सुवेदी, उपमेयरमा जानकी सिंह, नेकपा एमालेबाट मेयरमा बालाराम शर्मा उपमेयरमा मोहनमाया ढकाल र नेकपा माओवादी केन्द्रबाट मेयरमा रत्नबहादुर गाहा र उपमेयरमा हरिमाया शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वर श्रेष्ठ, उपमेयरमा टिका योगी, नेमकिपाबाट मेयरमा शेरबहादुर शाही, उपमेयरमा विजुकला राना र नेकपा माओवादी वैद्यबाट मयेरमा खडानन्द लामिछाने, समाजवादी जनता पार्टीबाट मेयरमा मनिराम शर्मा र उपमेयरमा गोमा सुनारले पनि उम्मेदवार दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेद्वार पनि
वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेद्वारी पनि दर्ता गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा स्वतन्त्र रुपमा गेहेन्द्र प्रसाद दाहाल, खडानन्द लामिछाने र मिलन थापा रहेका छन भने उपमेयरमा भोजप्रसाद चपाईले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य नगर तथा गाँउपालिकामा को कोले दिए ?

सुर्खेतको भेरिगंगा नपाबाट काँग्रेसका भुपेन्द्रबहादुर सिंह मेयर र उपमेयरमा रेणु ढकाल, एमालेबाट मेयरमा यज्ञ ढकाल, उपमेयरमा चन्द्रा आचार्य, माओवादीबाट मेयरमा कृष्णप्रसाद गिरी, उपमेयरमा डिलसरा थापा र राप्रपाबाट मेयरमा गोपाल हमालले मनोनयन पत्र दर्ता गरेका छन ।

यस्तै गुर्भाकोट नपामा काँग्रेसका हस्त पुन मेयर र उपमेयरमा मैना विक, एमालेबाट मेयरमा देवबहादुर खत्री, उपमेयरमा सुशीला विक, माओवादीबाट मेयरमा हिराबहादुर थापा, उपमेयरमा नन्दकली विक र राप्रपाबाट मेयरमा लक्ष्मीप्रसाद शर्माले मनोनयन पत्र दर्ता गरेका छन ।
पञ्चपुरी नपामा काँग्रेसका उपेन्द्रबहादुर थापा मेयर र उपमेयरमा मुक्तिदेवी पुरी, एमालेबाट मेयरमा मदनबहादुर विक, उपमेयरमा राजकुमारी तिवारी, माओवादीबाट मेयरमा धनबहादुर विक, उपमेयरमा सीता पाण्डेले मनोनयन पत्र दर्ता गरेका छन ।

लेकवेशी नपामा काँग्रेसका उमेश पौडेल मेयर र उपमेयरमा दिलमती विक, एमालेबाट मेयरमा गगनसिंह सुनार, उपमेयरमा शान्ति छन्त्याल, माओवादीबाट मेयरमा खड्क घर्ती, उपमेयरमा आरती विकले मनोनयन पत्र दर्ता गरेका छन ।

चौकुने गाँउपालिकामा काँग्रेसका गजराज जोशी प्रमुख र उप प्रमुखमा रेणु राना, एमालेबाट प्रमुखमा थिरबहादुर शाही, उपप्रमुखमा निर्मला राना, माओवादीबाट प्रमुखमा खड्क विवस बाँसपाने, उपप्रमुखमा विमला जिसीले मनोनयन पत्र दर्ता गरेका छन ।

बराहताल गाँउपालिकामा काँग्रेसका तेजबहादुर बस्नेत प्रमुख र उप प्रमुखमा शोभा शर्मा, एमालेबाट प्रमुखमा ताराकेशर गौतम, माओवादीबाट प्रमुखमा बलबहादुर कडायत, उपप्रमुखमा गोमा गुरुङले मनोनयन पत्र दर्ता गरेका छन ।

चिङगाड गाँउपालिकामा काँग्रेसका देवबहादुर चन्द प्रमुख र उप प्रमुखमा मनमया आचार्य, एमालेबाट प्रमुखमा बखतबहादुर खत्री, उपप्रमुखमा दिपाकुमारी राना, माओवादीबाट प्रमुखमा बोधविक्रम जिसी, उपप्रमुखमा तेजकुमारी रानाले मनोनयन पत्र दर्ता गरेका छन ।

सिम्ता गाँउपालिकामा काँग्रेसका खड्क पोखरेल प्रमुख, एमालेबाट प्रमुखमा कविन्द्रकुमार केसी, उपप्रमुखमा चन्द्रा कुमारी शाही, माओवादीबाट प्रमुखमा झुपबहादुर बुढा, उपप्रमुखमा चन्द्रकला खत्रीले मनोनयन पत्र दर्ता गरेका छन ।

एमालेको घोषणा सभा
यसैबीच नेकपा एमालेले मनोनयन दर्ता पश्चात स्थानीय पिपलचौतारामा उम्मेद्वार घोषणासभा सम्पन्न गरेको छ । उक्त सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा एमाले पोलिटव्यूरो सदस्य यामलाल कंँडेलले एमालेले यो स्थानीय तहको चुनावमा जिल्ला भरनै विजय पताका लहराउने दाबी गरे ।
वीरेन्द्रनगर नगरपालिका हिजो पनि एमालेले २ पटक जितिसकेको स्मरण गराउँदै नेता कंडेलले यो तेस्रो पटक पनि जितेर समृद्व नगरको रुपमा एमालेले यसको विकास गर्ने बताए ।

एमालेको समृद्व मुलुक बनाउने बाहेक अन्य कुनै सपना नभएको भन्दै नेता कंडेलले सूर्य ध्वजावाहक सबै उम्मेदवारलाई अत्याधिक मत दिइ विजय गराउन आग्रह गरे । उनले भने ‘एमाले जनताको पार्टी हो ।
जनता एमालेलाई पर्खेर बसेका छन ।’ अब चाँडो भन्दा चाँडो हरेक वस्तीमा गएर जनतालाई पार्टीको घोषणापत्रबारे जानकारी दिन समेत निर्देशन दिए ।
कार्यक्रममा एमालेका तर्फबाट वीरेन्द्रनगर नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका बालाराम शर्मा, उपमेयर मोहनमाया ढकाल, वडाअध्यक्ष तथा सदस्यहरुसँगै कार्यकर्ता, सर्मथक, शुभचिन्तकको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्