‘माछा गाउँ’ मा परिणत हुँदै ‘तरकारी गाउँ’



नेपाल समाचारपत्र
हेटौंडा
विगतमा ‘तरकारी गाउँ’ भनेर चिनिने उक्त गाउँ हाल ‘माछा गाउँ’ मा परिणत भएको छ। यसले स्थानीयको आम्दानी निकै बढाएको देखिन्छ।

हेटौंडानजिक मनहरी गाउँपालिका–४, मसिनेका सानुकान्छा तितुङ माछा, बंगुर र कुखुरालाई दाना दिन व्यस्त हुनुहुन्छ। केही वर्षअगाडि बगरको खेत खन्न व्यस्त हुने करिब ४८ वर्षीय तितुङ हाल आर्थिकरुपले केही सम्पन्न हुनुभएको छ।

तितुङको यो उदाहरणीय कामपछि मसिने गाउँभरि धानखेत मासेर माछापोखरी खन्ने किसान बढ्दैछन्। माछापालनका लागि उक्त गाउँमा चुरिया कृिष सहकारी गठन गरिएको छ। यसले गर्दा कृषि विकास कार्यालय मकवानपुरले गाउँलाई माछापालन पकेट क्षेत्र घोषणा गरेको छ।

करिब दुई वर्षअघि गैसस मनहरी विकास संस्था (एमडीआई) ले रैथाने माछा संकटमा परेको भन्दै संरक्षण गर्न र व्यावसायिक माछापालन गर्न गाउँमा अनुसन्धान केन्द्र स्थापना गरेपछि स्थानीय किसानलाई माछामा लगाव बढाएको हो।

एमडीआईले तितुङलाई माछा पाल्न शुरुको लगानी ५ हजार दिएको कृषक तितुङले बताउनुभयो। एक कठ्ठामा ५ हजार लगानीबाट शुरु गरेको माछा फस्टाएर मुनाफा दिन थालेपछि तितुङले उक्त रकम माछामा लगानी गर्दै जाँदा अहिले उहाँको १ सय २० वटा पोखरीमा माछा छन्।

बालाजु मत्स्य विकास केन्द्रले माछा नर्सरीका लागि ६ लाख सहयोग दिने पक्का भएपछि थप जग्गामा पोखरी खन्ने योजनामा जुट्नुभएका तितुङले आफ्नो जग्गामा पोखरी खनेर सकिएकाले दाजुसँग जग्गा लिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘माछाबाट २० लाखजति कमाइ भएको छ। माछा पोखरीवरपर पालिएका बंगुर र कुखुरासँगै तितुङले माछापोखरीको डिलमा लगाउनुभएको केराबाट समेत मनग्ये आम्दानी भइरहेको बताउनुभयो। एक कठ्ठामा एकपटकमा डेढ क्विन्टलसम्म माछा निस्कने गरेको छ।

सहकारीमा २ सय २१ सदस्य छन्। स्थानीयलाई माछापोखरी खन्न र माछाका भुरा हाल्न एमडीआईले आर्थिक सहयोग गर्दै आएको छ। स्थानीय रामहरि बिष्टले गत वर्ष ९ कठ्ठामा पोखरी खनेको र यस वर्ष १२ कठ्ठा धानखेत मासेर पोखरी खनेको बताउनुभयो। उहाँका अनुसार धानमा भन्दा माछामा कमाइ धेरै र लगानी थोरै हुने गरेको छ। उहाँ भन्नुहुन्छ–‘धान रोप्न खेलाता पाउनै छाडियो, यसले आफूलाई स्वरोजगार बनाएको छ। त्यसैले मासियो खेत, बनाइयो पोखरी।

मसिनेका युवा पवन खड्काले आफ्नो करिब दुई बिगाहा खेतमा माछापालन शुरु गर्नु भएको छ । दुई बाली धान फल्ने खेत मासेर उहाँले पोखरी खन्नुभएको हो।‘हामीले तालिम लिएर आएका छौं, अब भुरा उत्पादन गरेर बिक्री गर्नुपर्छ,’ गत वर्षमात्र माछा पाल्न शुरु गर्नुभएकी कल्पना खतिवडाले बताउनुभयो।

गत वर्षदेखि माछापालन शुरु गरेको गाउँमा हालसम्म ८० बढी किसानले धानखेत मासेर माछापोखरी खनेको विष्टको भनाइ छ। गाउँनजिकको जंगलमा कन्दमूल खोजेर जीविकोपार्जन गर्ने बनकरिया समुदायले पनि माछा पाल्न थालेपछि मसिनेलाई ‘माछा गाउँ’ बनाउने योजना अघि सारिएको स्थानीय बताउँछन्।

बजारका लागि पनि समस्या नभएको स्थानीयको भनाइ छ। माछा जति उत्पादन गरे पनि बिक्री गर्न समस्या नभएको स्थानीयको अनुभव छ। यति हुँदा पनि हेटौंडा बजारमा खपत हुने माछा अझ भारतबाट ल्याउने गरिएको माछा व्यवसायीको भनाइ छ।

मकवानपुरको राप्ती, मनहरी, लोथर, कर्रा, सिमात, बकैया र सामरीलगायत खोलामा करेन्ट लगाउने र विषादी प्रयोग गरी माछा मार्ने गरिएका कारण रैथाने माछा संकटमा पर्दै गएको भन्दै एमडीआईका कार्यकारी निर्देशक खोपनारायण श्रेष्ठले माछापालन गर्न स्थानीयलाई उत्प्रेरित गर्ने प्रयास गरिएको बताउनुभयो।

राप्तीखोलामा ३७ प्रजातिका रैथाने माछा फेला परेको एमडीआईले गरेको अध्ययनमा देखिएको छ। बिगतमा कति प्रजातिका माछा थिए भन्ने विषयमा कतै अध्ययन नभएको एमडीआईका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। यस वर्ष मसिनेमा माछापोखरी खन्ने प्रयोजनका लागि १३ लाख अनुदान उपलब्ध गराइएको जिल्ला कृषि कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्