एक लाख लाभग्राही अनुदान पाउने सूचीमा



काठमाडौं, (नेस)
भूकम्प कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही निजी आवास पुनर्निर्माणको अनुदान पाउन योग्य देखिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षणअनुसार दुई जिल्लाको ४ गाविस बाहेक सर्वेक्षण सकिएका १७ जिल्लाका ९८ हजार २ सय १ घरधुरी लाभग्राही सूचीमा समावेश भएका हुन।
हिम पहिरोका कारण सर्वेक्षण सकिन ढिलाई भएका सोलुखुम्बुका ३ गाविस र लमजुङको एक गाविसबाहेक अन्य १७ जिल्लाका ७ सय ५४ नगरपालिका र गाविसबाट प्राप्त लाभग्राहीको सूचीलाई प्राधिकरणको कार्यकारी समिति बैठकले अनुमोदन गरिसकेको छ।

लाभग्राही सूचीमा परेकाहरूसँग आवास अनुदान सम्झौता सम्पन्न भए ती सबैले निजी आवास पुनर्निर्माणका लागि सरकारबाट दिने अनुदान वापतको ३ लाख रुपियाँ प्राप्त गर्नेछन्। प्राधिकरणले अनुदान सम्झौता सम्पन्न भइसकेका लाभग्राहीलाई विभिन्न जिल्लामा पहिलो किस्ता वापतको ५० हजार रुपियाँ धमाधम वितरण गरिरहेको छ।

सर्वेक्षणअनुसार लाभग्राही सूचीमा अर्घाखाँचीबाट एक हजार ३६, बागलुङबाट २ हजार ३ सय ७५, भोजपुरबाट ५ हजार ७ सय ४९, धनकुटाबाट २ हजार ७ सय ९६, गुल्मीबाट ४ हजार १ सय ४४, कास्कीबाट ६ हजार २६, खोटाङबाट ८ हजार ४ सय ४३ घरधुरी लाभग्राही सूचिमा समावेश भएका छन्।

यस्तै लमजुङबाट १३ हजार ५ सय १९, म्याग्दीबाट ८ सय ६८, नवलपरासीबाट ८ सय ७२, पाल्पाबाट ४ हजार ६ सय ५२ , पर्वतबाट ५ हजार २ सय ६९, संखुवासभाबाट १ हजार ९ सय ९३, स्याङजाबाट ८ हजार ५ सय ४९, चितवनबाट ७ हजार ३ सय ३५, सोलुखुम्बुबाट १० हजार ७ सय ९४ र तनहुँबाट १३ हजार ८ सय २१ घरधुरी लाभग्राही सूचिमा परेको प्राधिकरणको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो। सर्वेक्षण हुन नसकेका बाँकी ४ गाविसमा पनि छिट्टै काम शुरु गर्ने प्राधिकरणको तयारी छ।

प्रतिक्रिया दिनुहोस्