शेयर बजारमा सुधार



काठमाडौं, (नेस)
निर्वाचनको वातावरण बन्दै गएपछि पुँजी बजारका लगानीकर्ता उत्साहित भएका छन्। साताको पहिलो दिन ओरालो लागेको पुँजी बजार सोमबार मजदूर दिवस परेका कारण बन्द रहेको थियो। मंगलबार नेप्से ७ दशमलव ५५ अंकले बढेर १६५८ दशमलब ३३ अंकमा पुगेको छ। १४३ कम्पनीको १५ लाख ४८ हजार कित्ता शेयर ९२ करोड ९० लाख बराबरको किनबेच भएको हो।

प्रधानन्यायाधीमाथि महाभियोग, गृहमन्त्रीद्वारा राजीनामा एवम् राप्रपा सरकारबाट बाहिरिएपछि राजनीतिक तरङ उत्पन्न भएको थियो। तर, मंगलबार तीन वटा प्रदेशमा उम्मेदवारी दर्ता कार्यक्र रहेका र यसमा दलहरूको उत्साहपूर्ण सहभागिता भएपछि लगानीकर्ताहरू उत्साहित भएका हुन्। यद्यपि, कारोबार अवधिभर बजारले निश्चित गति भने लिन सकेन। दिनभर बजार घट्नेबढ्ने क्रम जारी रहेको थियो। बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्ने क्रममा रहेका कारण पनि लगानीकर्ताहरू यस क्षेत्रमा आकर्षित भएका छन्।

यस दिन बैंकिङ समूह ६ दशमलव ८८, विकास बैंक समूह १६ दशमलव ४३, जलविद्युत् समूह ३ दशमलव १६ र बीमा समूह ७९ दशमलव शून्य २ अंकले बढेको छ भने होटल २८ दशमलब ८८, फाइनान्स २ दशमलव १७, उत्पादन समूह ५ दशमलब ४६ र अन्य २ दशमलब ३२ अंकले घटेको छ। मंगलबार ओमी र नयाँ नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। यस दिन गुमाउनेमा ग्रिन डेभलपमेन्टका लगानीकर्ता अगाडि रहे। उनीहरूले ५ दशमलव १ प्रतिशतले मूल्य गुमाएका छन्। मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २९ लाख, नेपाल एसबीआई बैंकको ३ करोड ४६ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको हो।

प्रतिक्रिया दिनुहोस्