ठूलो नगरमा मनोनयन



धन बस्नेत, पोखरा

३३ वडामा विभाजित कास्कीको लेखनाथ महानगरपालिकाको नेतृत्व हाक्न नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। मंगलबार शीर्ष दलसहित अन्य उमेदवारले मनोनयन दर्ता गरेका छन्। उमेदवारी दर्ता गर्न जाँदा सबैले बाजागाजाले रौनकता थप्दै निर्वाचन आयोग पुगे। त्यसले चुनावी रौनकता एक्कासि बढाएको थियो। एमालेले सोमबार राति टुंगो लगाएको हो भने कांग्रेसले पहिले टुंगो लगाएका उमेदवार परिवर्तन गर्दै नयाँ सूचि सार्वजनिक गर्यो। माओवादीले मंगलबार बिहान टुंगो लगाउँदै उमेदवार मनोनयन दर्ता गरायो।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले सोमबार मध्यरात मात्रै मेयर र उपमेयरको उम्मेदवारी आधिकारिक रूपमा घोषणा गर्यो। मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई टिकट दियो। अघिल्लो दिनसम्म पूर्वउपमेयर नरेशशकंर पालिखेको चर्चासँगै सामाजिक सञ्जालमा समाचार तथा शुभकामना समेत ओइरिसकेको थियो। तर मध्यरातमा रामजी कुँवरको निर्णय हुदैं कांग्रेसले अन्तिम नामावली सार्वजनिक गरेको थियो।

अघिल्लो दिनमा नेपाली कांग्रेसले शुरूमा नरेशशंकर पालिखेलाई मेयर र चन्द्रावती पौडेललाई उपमेयर बनाएको थियो। तर एमालेले मानबहादुर जिसीलाई मेयर र मन्जु गुरुङलाई उपमेयर बनाएपछि कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर बनाएको छ। कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो। कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमहासमिति सदस्य हुन्।

कांग्रेसको तर्फबाट ३३ जना मेयरका लागि आंकाक्षी थिए। ३२ प्रतिस्पर्धीलाई उछिन्दै कुँवरले टिकट सुरक्षित गरेका हुन्। यसअघि कांग्रेस कास्कीले सर्वसम्मत उमेदवार चयन गर्न नसकेपछि आकांक्षी सबै ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको थियो। सिफारिस ३३ जनामध्ये कुँवरलाई उमेदवार बनाउने निर्णय भएको कांग्रेस कास्कीले जनाएको छ। त्यस्तै, उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उमेदवार बनाएको छ। गुरुङ कांग्रेसको कृयाशील सदस्य हुन् भने नेपाल पत्रकार महासंघ कास्कीकी सदस्यसमेत हुन्। कास्कीबाट उपमेयरका लागि १५ जना सिफारिस गरिएको थियो।

नेकपा एमाले
नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य मानबहादुर जिसीलाई मेयर उम्मेदवार तय गर्दा पोखराका पूर्वमेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा टिकटको दौडबाट बाहिरिएका छन्। जिल्ला र नगरको मतदानमा एक नम्बरमा भोट पाएका जिसीलाई नै उमेदवार बनाउने निर्णय स्थायी कमिटीले गरेको हो। यद्यपि उनी दोस्रो संविधान सभाको चुनावमा कास्की क्षेत्र नं १ कांग्रेसका यज्ञबहादुर थापासँग करिब डेढ सय मतले पराजित भएका थिए। एमालेले उपमेयरको उमेदवारका अघि सारिएकी मन्जु गुरुङ एमाले निकट अखिल नेपाल महिला संघ कास्कीकी अध्यक्ष हुन्। उनी पोखराका विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध छिन्।

माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ। सोमबार दिनभरि छलफल गर्दा पनि उमेदवार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार बिहानै उमेदवार टुंगो लगाएको हो। लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन्। उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्षसमेत हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए। उनकै समयमा फेवाताल किनारमा फुट ट्रयाक निर्माण गरिएको थियो।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रले गोमा ढकाललाई उमेदवार बनाएको छ। ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य र पर्यटन व्यवसायी हुन्। उनी सामुदायिक सेवा केन्द्र बैदामकी पूर्वअध्यक्ष पनि हुन्। उनी सामाजिक अभियन्ता हुन्। उनी पोखरा उद्योग वाणिज्य संघकी निर्वाचित सदस्यसमेत हुन्।

राप्रपा
राप्रपाले गीता गुरुङलाई मेयरमा उठाएको छ। यसै गरी उपमेयरमा रमेशबहादुर खत्रीलाई उमदवार बनाउने निर्णय भएको राप्रपा कास्कीका सहसचिव सूर्य बास्तोलाले जानकारी दिए। पोखरा लेखनाथ महानगरपालिकाको मेयरको प्रतिस्पर्धी उनी एक मात्र महिला उमेदवार हुन्। मेयरका उमेदवार गुरुङ राप्रपा क्षेत्र नम्बर–२ का क्षेत्रीय अध्यक्ष हुन्। उपमेयरका उमेदवार खत्री पोखरा लेखनाथ महानगरपालिकाका संयोजक छन्।

संघीय समाजवादी⁄नयाँशक्ति
यसै गरी संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तिले संयुक्त रूपमा पत्रकार हुमबहादुर गुरुङलाई मेयरको उमेदवार बनाएका छन्। उपमेयरमा भने लक्ष्मी खाती परियारलाई उमेदवार बनाइएको छ। मेयरका उमेदवार गुरुङ तमुवान आन्दोलन परिचालन समितिका संयोजक हुन्। उपमेयरका उमेदवार लक्ष्मी खाती परियार नयाँशक्ति निकट महिला शक्तिकी कास्की संयोजक हुन्।

९८ मतदान स्थल, २ सय १० मतदान केन्द्र
पर्यटनको प्रमुख आधार रहेको पोखरा लेखनाथ महानगरपालिकामा ७७ हजार ३ सय ८१ पुरुष, ९० हजार ६ सय ८४ महिला र २ जना तेस्रो लिंगी गरी कूल १ लाख ६८ हजार ६७ मतदाता छन्। पछि थपिएकोसँगै गरी ३३ वटा वडा रहेको महानगरपालिकामा ९८ मतदानस्थलमा कूल २ सय १० वटा मतदान केन्द्र तोकिएको छ। वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकामा १ सय ६७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ। एक प्रमुख, एक उपप्रमुख, ३३ जना वडाध्यक्ष, खुल्ला प्रत्येक वडाबाट २ र २ जनाको दरले ६६ जना, प्रत्येक वडामा १⁄१ जना महिला र दलित महिला गरी ६६ जनासहित कूल १ सय ६७ जना निर्वाचित हुने प्रावधान छ। त्यस्तै, निर्वाचित नगरसभाले ३ जनापछि मनोनित गर्ने प्रावधान रहेको छ। सोसमेत गरी कूल १ सय ७० जना जनप्रतिनिधि नगरसभामा रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्