निर्वाचन विरोधी गतिविधि तीव्र



विमल विष्ट, डोटी

ही वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन अर्को महिनाका लागि सारिएसंगै नेत्रविक्रम चन्द ‘बिप्लव’ले नेतृत्वको नेकपा माओवादीले डोटीमा निर्वाचन विरोधी गतिविधि तीव्र बनाएको छ। दलका नेता कार्यकर्ता निर्वाचनको मिति सरेर जिल्ला छोड्न थालेपछि बिप्लवका कार्यकर्ताले चुनाव विरोधी गतिविधी गर्न थालेका हुन्।

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनले जनतालाई धोका दिने तथा जनताको हित विपरीत भएकाले त्यसमा सहभागी नहुन सो पार्टीका कार्यकर्ताले स्थानीय बासिन्दालाई निर्देशन दिएका छन्। जिल्लाका बड्डीकेदार, बोगटान, जोरायललगायतका गाउँपालिकामा निर्वाचन विरोधी पर्चा पम्पलेट टास्दै निर्वाचन विरोधी घरदैलो अभियान सञ्चालन गरिरहेको बताइएको छ। बिप्लव समूहका डोटी प्रमुख विवेक कुमालले निर्वाचनले जनतालाई धोकादिने भएकाले ‘जनआकांक्षा पूरा गर्न नसक्ने दावी गरे।

उनले भने– ‘सरकारले सेना र पुलिसको बलमा चुनाउ गराउला तर विजयी भएका उमेदवारहरु एक दिन पनि आफ्नो कार्यकक्षमा बस्न सक्ने छैनन्, जनताको हित विपरीत गरिएको निर्वाचनमा भाग लिनेलाई हाम्रा जनसरकार तथा जनताले सपथ ग्रहणकै दिन लखेट्ने छन्।’ सो पार्टीले निर्वाचन विरोधी गतिविधि बढाउन शुरु गरेसँगै स्थानीय प्रशासनले पनि उनीहरुका कार्यक्रम तथा गतिविधिमा निगरानी बढाएको छ। एक सरकारी अधिकारीले भने– ‘बिप्लव’ माओवादीका गतिविधि तथा उनीहरुका क्रियाकलापका बारेमा पछिल्लो समय निगरानी बढाइएको छ, उनीहरुले निर्वाचन बिथोल्नेसम्बन्धी कुनै कार्यक्रम गर्न सक्ने छैनन्, गर्ने बित्तिकै पक्राउ परिहाल्छन्।’

क्याप्सनः डोटीको बड्डीकेदार गाउपालिकामा निर्वाचन बिरोधी पम्पलेट टास्दै बिप्लव समूहका कार्यकर्ता।

प्रतिक्रिया दिनुहोस्