यस्ता छन् काठमाडौं महानगरका उमेदवार




मुलुकको पहिलो महानगर काठमाडौं महानगरपालिकामा विभिन्न १९ जनाले मेयरको उमेदवारी दर्ता गराएका छन्। विभिन्न दलका १० जना र ९ जना स्वतन्त्र उमेदवारको नाम काठमाडौंको मेयरका लागि दर्ता भएको छ।

केही नयाँ र साना दलले दिउँसो उमेदवारी दर्ता गराए पनि नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका उमेदवार अपरान्ह्र मात्र नाम दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय भृकुटीमण्डप पुगेका थिए। काठमाडौं महानगरका लागि कांग्रेसका तर्फबाट राजुराज जोशी, नेकपा एमालेबाट विद्या सुन्दर शाक्यले मेयरको उमेदवार दर्ता गराएका छन्। विद्यार्थी राजनीतिदेखि नेपाली कांग्रेसमा आवद्ध जोशी २०४१ मा पार्टीको काठमाडौं जिल्ला सदस्य र २०४९मा काठमाडौं जिल्ला कार्यसमितिका सचिव थिए।

पछिल्लो समयमा उनी पार्टी महासमिति सदस्य छन्। सो पार्टीबाट मेयरका लागि मंगलबार बिहानसम्म जोशीसहित पूर्वमन्त्री तीर्थराम डंगोल, काठमाडौं जिल्ला सदस्य सुसन वैद्यलगायतले दावेदारी प्रस्तुत गरेका थिए। त्यस्तै नेकपा एमालेले काठमाडौं महानगरका लागि पार्टीका काठमाडौं जिल्ला सचिव विद्या सुन्दर शाक्यलाई मेयरको टिकट दिएको छ। विद्यार्थी राजनीतिदेखि पार्टीमा आवद्ध शाक्य २०४९ र २०५४को स्थानीय तहको निर्वाचनमा काठमाडौंको २१ वडाका वडाध्यक्ष निर्वाचित थिए।

यसअघि एमालेले काठमाडौंको मेयरका लागि शाक्यसहित पार्टीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ र सावित्रा भुषालको नाम स्थायी समितिलाई सिफारिस गरेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट शाक्यलाई अन्तिम समयमा जीवनराम श्रेष्ठले समर्थन गरेका थिए। काठमाडौं र ललितपुर महानगरमा एमाले र राप्रपाबीच चुनावी तालमेल पश्चात संयुक्त उमेदवारी दर्ता भएपछि राप्रपाले दुवै नगरमा उपमेयरमा मात्र उमेदवारी दर्ता गराएको छ।

ती दुवै पार्टीबीच मंगलबार चुनावी तालमेल जुटेको हो। राप्रपाका प्रवक्ता र शाहीकालमा काठमाडौंका मेयर भएका राजाराम श्रेष्ठले काठमाडौंको उपमेयरको उमेदवारी दिएका छन्। माओवादी केन्द्रले पार्टीका पोलिटब्यूरो सदस्य सर्वाेत्तम डंगोललाई काठमाडौं महानगरको मेयरको उमेदवार बनाएको छ। पुराना कम्युनिस्ट नेता डंगोल सो पार्टीका काठमाडौं इन्चार्जसमेत हुन्। माओवादी केन्द्रले पार्टीकी नेत्री सुशीला पौडेललाई उप–मेयरको उमेदवार बनाएको छ।

महानगरको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल पश्चात काठमाडौंमा संयुक्त उमेदवारी घोषणा गरेका छन्। काठमाडौं महानगरको मेयरमा संघीय समाजवादीका पवित्र वज्राचार्य मेयर र उपमेयरमा नयाँ शक्तिकी सविना अर्यालको नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। वज्राचार्य यस अघिको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट काठमाडौंको २३ वडाका वडाध्यक्ष निर्वाचित भएका थिए।

काठमाडौंको मेयरका लागि राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, विवेकशील नेपाली दलबाट क्रमशः निर्मलकुमार थापा, तुल नारायण डंगोल, किसोर थापा, रञ्जु न्यौपानेले उमेदवारी दर्ता गराएका छन्। त्यसै गरी देशभक्त पर्यावरणीय सामाजिक मोर्चा पार्टीका तर्फबाट सुरेन्द्रप्रसाद ढकाल, नेकपा संयुक्तको तर्फबाट बचपनराज श्रेष्ठले मेयरका रूपमा उमेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उमेदवारहरु भरतबहादुर बिसुराल र जेनिशा भट्टराईको समेत मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं महानगरको उपमेयरमा कांग्रेसबाट हरिप्रभा खड्गी श्रेष्ठ, मजदुर किसान पार्टीबाट मनदेवी श्रेष्ठ, माओवादी केन्द्रबाट सुशीला पौडेल, साझा पार्टीबाट निरुपमा यादव, जनमोर्चाबाट ऋतु सापकोटा केसीको नाम दर्ता भएको छ।

काठमाडौं महानगरपालिकामा विभिन्न १९ जनाले मेयरको उमेदवारी दर्ता गराएका छन्। विभिन्न दलका १० जना र ९ जना स्वतन्त्र उमेदवारको नाम काठमाडौंको मेयरका लागि दर्ता भएको छ।
काठमाडौंका नगरमा एमाले उमेदवारहरु
१. काठमाडौं महानगरपालिका
प्रमुख–विद्यासुन्दर शाक्य
२. चन्द्रागिरी नगरपालिका
प्रमुख–प्रल्हाद कार्की
उपप्रमुख–लिशा नकर्मी
३. कीर्तिपुर नगरपालिका
प्रमुख–रमेशमान महर्जन
उपप्रमुख–सरस्वती खड्का
४. कागेश्वरी मनोहरा नगरपालिका
प्रमुख–कृष्णहरि थापा
उपप्रमुख–बिन्दु सिम्खडा
५. बुढानिलकण्ठ नगरपालिका
प्रमुख–उद्धब खरेल
उपप्रमुख–रमा राई
६. टोखा नगरपालिका
प्रमुख–प्रकाश अधिकारी
उपप्रमुख–ज्ञानमाया डंगोल
७. गोकर्णेश्वर नगरपालिका
प्रमुख–पुण्य चौंलागाईं
उपप्रमुख–शान्ति श्रेष्ठ
८. नार्गजुन नगरपालिका
प्रमुख–कृष्णहरि खत्री
उपप्रमुख–सुशीला अधिकारी
९. दक्षिणकाली नगरपालिका
प्रमुख–शशी शर्मा अर्याल
उपप्रमुख–मिरा आचार्य महर्जन
१०. तारकेश्वर नगरपालिका
प्रमुख–रामेश्वर बोहरा
उपप्रमुख–भानु डोटेल ’भवानी‘
११. शंखरापुर नगरपालिका
प्रमुख–सुवर्ण श्रेष्ठ
उपप्रमुख–सुकलक्ष्मी श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्